Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

पार्टी विभाजन नहोस् भन्ने चाहेको छु : देउवा

पार्टी विभाजन नहोस् भन्ने चाहेको छु : देउवा


  • 722
    Shares

    पार्टी विभाजन नहोस् भन्ने चाहेको छु : देउवा

    काठमाडौं । नेपाली कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले सभापति शेरबहादुर देउवालाई भेटेर अहिलेको विवाद समाधानका लागि ध्यानाकर्षण गराएको छ । सो भेटमा सभापति देउवाले पनि पार्टी विभाजन नहोस् भन्ने आफूले चाहेको बताएका छन् ।

    केन्द्रीय कार्यसमिति चलिरहँदा निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने भन्दै दबाब दिएको समूह शुक्रबार बिहान सभापति देउवासँग महाराजगञ्जस्थित निवास पुगेको थियो ।

    उक्त समूहमा रहेकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीमा चुलिएको पछिल्लो विवाद समाधानबारे सभापति देउवासँग आफूहरूले छलफल गरेको जानकारी दिइन् । उनकाअनुसार समूहले आजै ९शुक्रबार० महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्दैछ ।

    ‘पहिला पनि हामीले चुनाव पछि महाधिवेशन हुनुपर्ने र चुनाव अघि विशेष महाधिवशेन हुनुपर्छ भन्ने मतहरू मिलाउने भूमिका निर्वाह गरेका थियौं,’ नेतृ संग्रौलाले भनिन्, ‘पछि चुनाव अघि नियमित महाधिवेशन गर्ने भनेर सर्वसम्मत निर्णय भएको थियो । अहिले पनि त्यही भूमिका निभाइरहेका छौं ।’

    उनले सभापति देउवासँग आफूहरूले पार्टीलाई निकास दिन र विभाजनमा जान नदिनका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको पनि बताइन् ।

    ‘पार्टीलाई निकास दिनुपर्‍यो । विभाजनतर्फ जान दिनुभएन भन्ने कुरा राख्यौं,’ संग्रौलाले भनिन्, ‘सभापतिज्यूले विभाजन नहोस्, मिलेर अगाडि जाऔं भन्ने म त चाहिनै रहेको छु भन्नुभयो ।’

    १६ पुस (बुधबार) का लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गरेर नियमित अधिवेशन स्थगन गरेका छन् ।

    उनीहरूले केही दिनभित्रै २७ पुसका लागि विशेष महाधिवेशन घोषणाको तयारीसमेत गरेका छन् । विशेष महाधिवेशनका लागि पक्षधर समूहले बिहीबार भृकुटीमण्डप पनि बुक गरिसकेको छ ।

    महामन्त्रीद्वयले नियमित महाधिवेशन अस्थगित गरेपछि कांग्रेसले शुक्रबार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

    प्रकाशित मिति :पौष १८ २०८२ शुक्रवार - १२:२७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij