२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । अखिल नेपाल ट्रेड युनियनले मंगलवार आयोजना गरेको कार्यक्रममा उहाँले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको बताएका हुन्।
उनले पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरुको भन्ने मानसिकताबाट मुक्त हुन पनि आग्रह गरेका छन् । यो संगठन मेरो, अर्को संगठन अरुको भन्ने भ्रममुक्त भएर अब सबै जनसंगठनहरुलाई एकतावद्ध गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उनले पार्टीमा योगदान भएका सबै नेताहरुको बारेमा चर्चा गर्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले नेकपा एमालेका कार्यकर्ताहरुले अध्यक्ष केपी ओलीलाई ‘बा’ भन्ने गरेकोप्रति कटाक्ष गर्नुहुँदै पार्टी भित्र ‘बा’ प्रवृत्ति हावी हुन दिन नहुने बताएका छन् ।
उनले भने, ‘हामीले भर्खरै १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेका छौँ । म तपाईहरुलाई फेरि पनि भन्न चाहन्छु, अव यो नयाँ पार्टी भएको छ । त्यसो भएको हुनाले पुरानो पार्टीको धङधङीबाट मुक्त पनि हुनुपर्छ । यो महशुस नहोस्, मनोविज्ञानलाई पनि बुझेर चल्नुपर्छ । त्यसो हुनाले प्रशिक्षणको पनि आवश्यक्ता छ । पेरिसडाँडा मेरो, आलोकनगर तपाईहरुको भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ । यो संगठन मेरो, अर्को संगठन अरुको भन्ने भ्रममुक्त हुनुपर्छ । अब एउटै पार्टी बनाएका छौँ । सबै जनसंगठनहरुलाई पनि एकतावद्ध गर्नुपर्नेछ । इतिहासको चर्चा गर्दाखेरि पनि ५२ सालदेखीको मात्रै होईन २००६ सालदेखिको चर्चा हुनुपर्छ । २०२८ सालदेखि झापा विद्रोहको चर्चा हुनेछ । एउटा नेताको मात्रै हुनेछैन, अनेकौँ नेताहरुले खेलेको महत्वपूर्ण भुमिकालाई पनि स्मरण गुर्नपर्छ । नभए हामीभित्र पनि बा भन्ने प्रवृति हावी हुनेछ । बा प्रवृत्तिबाट मुक्त हौँ, हामी ।’
उनले एक, अर्काप्रतिको विश्वासले पार्टीलाई नेपाली जनताको आशा र भरोसाको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij