२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्ने भएको छ । माइतीघर मण्डलामा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा घोषणा सभा गरिने भएको हो ।
आज शुक्रबार ओलीले बबरमहलस्थित कार्की बैंकेटमा कार्यक्रम गरेर एनभीएफ घोषणा गर्न लागेका हुन् । त्यसअघि माइतीघर मण्डलामा एमालेका युवाहरू भेला भएर वानेश्वरसम्म मार्चपास गर्ने भएका छन् । पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३ २४ को घटनापछि आम मानिसहरूको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको हो ।
फोर्सले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने,सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले फोर्स गठन गर्न लागिएको एमालेको भनाइ छ ।
सुरक्षा संवेदनशीलता बढेका बेला राज्यले अध्यक्ष ओली लगायत नेताहरूका सुरक्षाकर्मी फिर्ता लगेकोले पनि फोर्सको आवश्यकता बढेको एमालेका ओली पक्षीय नेताहरूको भनाइ छ ।
एनभीएफको प्रदेश र जिल्लागत संरचना पनि तत्काल बिस्तार गर्ने ओलीको तयारी छ । एनभीएफमा एकजना कमान्डर र दुईजना सहायक कमान्डरको व्यवस्था गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij