२०८२ मंसिर ४ गते बिहिवार
काठमाडौं । अमेरिकाको अप्रवासन नीतिविपरीत त्यहाँ बसोबास गर्दै आएका ३५ नेपाली मंगलबार राति अमानवीय व्यवहारसहित काठमाडौं फिर्ता (डिपोर्ट) भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणलगत्तै प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोमा सोधपुछपछि उनीहरू आ-आफ्नो बासस्थान फर्किए ।
अनुसन्धान व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीका अनुसार फर्किएका ३५ मध्ये सबै तल्लो बाटो, अर्थात् ‘डंकी रुट’ प्रयोग गरेका थिए । सबैले विभिन्न दलाललाई पैसा बुझाएका थिए । तर, ती दलाल को-को हुन् भन्नेबारे केही बताउन चाहेनन् । प्रहरीको प्रश्न थियो, ‘कोहीमाथि उजुरी गर्नुपर्ने छ कि ?’ यसको जवाफमा सबैले उजुरी नगर्ने भनेका थिए ।
फर्किने क्रममा आफ्ना सामान बोरामा हालेर ल्याइएको, अमेरिकाबाट जहाजमा चढेदेखि नै हातमा हत्कडी र खुट्टामा नेल लगाइएको थियो । हात र खुट्टा नै बाँधिएका कारण जहाजमा राम्रोसँग सुत्न नपाएको गुनासो गरेका थिए ।
उनीहरूले प्रहरीलाई भने, ‘निद्रा पुगेको छैन, खान पनि राम्रोसँग पाइएन ।’ निराश र हतास मनस्थितिमा देखिएका उनीहरुले अमेरिका जाने क्रममा पैसा दिइएका व्यक्तिसँग आफैँले सम्पर्क गर्ने भनेका छन् । कतिपयलाई अमेरिका पठाउने एजेण्टले रकम फिर्ता दिने भनेका कारण उजुरी गर्न चाहेनन् ।
सोमबार फर्काइएकामा ३६ वर्षीया शाह थरकी एक्ली महिला छन्, त्यस्तै १९ वर्षीय किशोर पनि छन् । डिपोर्ट गरिएकामध्ये केही विद्यार्थी उमेरका नेपाली छन् ।
‘डंकी रुट’ बाट अमेरिका गएर पनि अध्ययनसँगै काम गरिरहेका ती युवा बढी निराश देखिएको सोधपुछ गर्ने प्रहरीले बताए ।
डिपोर्ट भएका नेपालीको सूची–

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij