२०८२ मंसिर ३ गते बुधवार
काठमाडौं । ‘हामी नेपाल अभियान’का संयोजक तथा जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री ओम प्रकाश अर्यालमाथि कडा आक्रोश पोख्दै सरकारको दोहोरो मापदण्डमाथि गम्भीर प्रश्न उठाएका छन् । काटमारको अभिव्यक्ति दिने र खुलेआम सरकारलाई चुनौती दिने व्यक्तिहरूमाथि कारबाही नगरेको तर शान्तिपूर्ण विरोध गर्नेमाथि दमन गरेको भन्दै गुरुङले गृहमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘दुर्गा प्रसाईंभन्दा धेरै भड्काउ अभिव्यक्ति दिने, काटमारको अभिव्यक्ति दिनेहरू सरकारलाई खुलेआम चुनौती दिँदै हिँडेका छन् । शान्तिपूर्ण विरोध गर्ने युवाहरूको टाउकोमा ताकेर गोली हान्नेहरू पनि तिनै हुन् । गृहमन्त्रीसँग तिनलाई त्यसरी नै समातेर छानबिन गर्ने र कारबाही गर्ने आँट देखिएन ।’
उनले सरकारले ‘सानालाई ऐन र ठूलालाई चैन’ दिने खालको व्यवहार देखाएको आरोप लगाएका छन्। संविधानविदको परिचय दिने गृहमन्त्रीलाई प्रश्न गर्दै गुरुङले भनेका छन्, ‘संविधानको कुन धारामा ‘सानालाई ऐन र ठूलालाई चैन’ लेखेको छ ? विधिको शासन लागू नहुने भए पुरानो शासन र अहिलेकोमा के फरक भयो गृहमन्त्रीज्यू ?’
शक्तिशाली व्यक्तिहरूले सरकारलाई खुलेआम लोप्पा खुवाउँदै हिँडिरहेको अवस्थामा पनि गृहमन्त्री कुर्सीमा टाँसिएर बस्नु कत्तिको सुहाउँछ भन्दै गुरुङले नैतिक प्रश्न समेत उठाएका छन् । उनले न्याय खोजिरहेका मृतक र घाइतेको उचित सम्बोधन तथा सबैलाई समान न्यायको प्रत्याभूति नभएसम्म चुनाव सम्भव नहुने आफ्नो अडान दोहोर्याएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij