२०८२ मंसिर १ गते सोमवार
काठमाडौं । चितवनस्थित गौतमबुद्ध क्रिकेट रङ्गशालाको बक्यौता रकम भुक्तानीका सम्बन्धमा खेलकुद मन्त्रालयको पत्र बोकेर सिताराम कट्टेल धुर्मुस फेरि भरतपुर महानगरमा पुगेका छन् । उनले आज महानगर प्रमुख रेनु दहालसँग भेटेर छलफल गरे ।
सङ्घीय सरकारले असारमै निकासा गरिसकेको रकम फाउन्डेसनलाई भुक्तानी गर्न महानगरले अहिलेसम्म आनाकानी गरिरहेको छ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानको मूल्याङ्कन प्रतिवेदनका आधारमा सिर्जित सम्पत्ति खरिद गर्ने भनेर सरकारले राष्ट्रिय बजेटमै १५ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसको कार्यान्वयनका लागि भरतपुर महानगर, संस्थान र धुर्मुस सुन्तली फाउन्डेसनबीच गत भदौ १६ गते सम्झौता भयो । उक्त सम्झौतामा महानगरका तर्फबाट प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका थिए ।
संस्थानले प्राविधिक मूल्याङ्कन गरेर प्रतिवेदनसमेत बुझाइसकेको छ । जसमा फाउन्डेसनबाट महानगरले करिब ६० करोड रुपैयाँको संरचना बुझिलिएको स्पष्ट उल्लेख छ । यस्तै, रंगशालाको उधारो सामग्रीस्वरुप १८ करोड ४३ लाख रुपैयाँ बक्यौता रहेको भनिएको छ । सोही वक्यौता रकम भुक्तानीका लागि संघीय सरकारले बजेटमै व्यवस्था गरेर पठाएको १५ करोड रुपैयाँ महानगरले अहिलेसम्म रोकेर राखेको हो ।
संस्थानले प्रतिवेदन दिएपछि त्यसकै आधारमा महानगरले तत्काल भुक्तानी गर्न सक्नेमा ‘अर्थ मन्त्रालयको राय चाहिने’ भनेर अड्को थापिएको थियो । त्यसपछि धुर्मुस आफैंले अर्थ मन्त्रालय पुगेर पत्र बनाउन लगाए । उक्त पत्र लगेर महानगरमा पेश गरे । फेरि खेलकुद मन्त्रालयको पनि राय चाहियो भनेपछि उनी काठमाडौं आए । खेलकुद मन्त्रालयबाट अर्को पत्र लिएर धुर्मुस आज महानगर पुगेका हुन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत पौडेल उपस्थित थिएनन् । उनी बिदामा बसेको जानकारी पाएपछि धुर्मुसले मेयरलाई पत्र बुझाएका छन् ।
स्रोतका अनुसार खेलकुद मन्त्रालयले पठाएको पत्रमा ‘नेपाल सरकार वित्तीय हस्तान्तरण भएको सन्दर्भमा तहाँबाटै प्रचलित कानूनको अधिनमा रही कार्यान्यन हुने भएकाले मन्त्रालयको छुट्टै राय नरहेको’ व्यहोरा उल्लेख छ । पत्रमा उपसचिव भूमिश्वर पोख्रेलले हस्ताक्षर गरेका छन् । यस विषयमा खेलकुद मन्त्रालयको छुट्टै राय नरहेको पत्रमा भनिएको छ ।
भरतपुर महानगर प्रमुख दाहालले पत्र पढिसकेपछि प्रशासकीय अधिकृतसँग छलफल गर्ने बताएकी थिइन् । प्रशासकीय अधिकृत राजी भएमा आफूले एक मिनेट पनि नरोक्ने उनको भनाइ रहेको स्रोत बताउँछ । धुर्मुसले प्रशासकीय अधिकृत पौडेललाई पनि फोन गरेर जानकारी गराएका छन् । यो विषयलाई अब महानगरको बैठक राखेर टुङ्ग्याउने उनको भनाइ छ ।
पौडेलले भने, ‘पत्र प्राप्त भएको भन्ने जानकारी पाएको छु । पत्र हेरेर त्यसअनुसार कारबाही हुन्छ । यो हप्ता नै महानगरको कार्यपालिका बैठक राखेर टुङ्गोमा पुर्याउँछु ।’ यस विषयमा नेपाल प्रेसले धुर्मुससँग सम्पर्क गर्दा उनी धेरै बोल्न चाहेनन् । उनले यतिमात्र भने, ‘मैले खेलकुदबाट पत्र लिएर महानगरमा बुझाएको छु । अब सबै उहाँहरुको हातमा छ । म ५ वर्षदेखि लड्दा–लड्दा थाकिसकेँ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij