२०८२ कार्तिक ९ गते आइतवार
काठमाडौं । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा थपिन लागेका चार मन्त्रीको शपथ आइतबार दिउँसो साढे २ बजे हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले साढे २ बजेका लागि शपथको समय निर्धारण भएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री कार्कीले आइतबार खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, डा.सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री बनाउन लागेकी छन् ।डा. गौतम स्वास्थ्य तथा जनसङ्ख्या, सुनार श्रम तथा रोजगार, श्रेष्ठ भूमि व्यवस्था, गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।
श्रेष्ठलाई यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी तय भएकोमा अहिले उनको जिम्मेवारी फेरेर भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij