Logo

२०८२ कार्तिक १ गते शनिवार

२०८२ कार्तिक १ गते शनिवार

सबै खबर एकै ठाउँमा

आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 3.0K
    Shares

    आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. स्थानीय तथा स्वदेशी फूलमाला विक्रीवितरणका लागि बुटवलका ११ स्थान तय

    नेपालीहरूको महान पर्व शुभ दीपावली तथा छठलाई मध्यनजर गरी बुटवल उपमहानगरपालिकाका विभिन्न ११ स्थानबाट फूल तथा मालाको विक्रीवितरण हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा बुटवलमा सम्पन्न बुटवलका फूल उत्पादक कृषकसँगको छलफलमा बुटवलमा उत्पादित फ्रूल तथा मालाहरू नगरका ११ स्थानबाट विक्रीवितरण गर्ने व्यवस्था मिलाइएको हो । बुटवल उपमहानगरपालिकाका कृषि अधिकृत सन्तोष जिसीले प्लाष्टिकजन्य फूल तथा मालाको प्रयोग गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै वातावरण प्रदुषण हुने भएकोले बुटवल उपमहानगरपालिका क्षेत्रभित्र यसको प्रयोगलाई निरूत्साहित गरी स्थानीय फुूल तथा मालाको प्रयोग बढाउने उदेश्यले स्थानहरु तोकेको बताउनु भयो । 

    २. विधिको शासन कायम गर्न कुनैपनि बहानामा आलटाल गर्नु हुँदैनः मन्त्री खरेल

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विधिको शासन कायम गर्न कुनैपनि बहानामा आलटाल नहुने बताउनुभएको छ । मन्त्रीपरिषद् बैठकका निर्णयहरु सुनाउने क्रममा सञ्चारकर्मीहरुले राख्नुभएका जिज्ञासको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार विधि र कानूनसम्मत ढंगले अघि बढ्न तयार रहेको बताउनु भयो । वर्तमान सरकारको पहिलो प्राथमिकता भनेकै सुशासन कायम गर्नु रहेको जिकिर गर्नुभयो । सुशासन कायम गर्ने कुरामा विधिको शासनलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । वर्तमान सरकार जेन जी जनआन्दोलनको जगमा बनेको नागरिक सरकार भएको दाबी गर्नुभयो । 

    ३. प्रहरीसँग पर्याप्त श्रोत, साधन उपलब्ध नभए आगामी निर्वाचन प्रभावित हुनेमा सरकार शतर्क छः गृहमन्त्री आर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई पर्याप्त श्रोत, साधन उपलब्ध नभए आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने कार्य प्रभावित हुनेमा सरकार शतर्क रहेको बताउनुभएको छ । शुक्रवार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रहरीलाई साधन, श्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने बताउनु भयो । उहाँले सरकारले प्रहरीलाई श्रोत, साधन उपलब्ध गराउन तत्काल आवश्यक कदम अघि बढाउने बताउनु भयो । नेपाल प्रहरी कानून कार्यान्वयनमा अग्र पंक्तिमा रहने र सरकारप्रतिको धारणा र प्रतिक्रियामा समेत निशानामा पर्ने संगठन रहेको बताउनु भयो । गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्व भएको जिकिर गर्नुभयो । जेन—जी आन्दोलनका क्रममा प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरु पनि लुटपाट र आगजनी भएको र  श्रोत साधनको अभाव रहेको प्रहरी संगठनका साथै आम नागरिकमा समेत यसको प्रत्यक्ष प्रभाव परेको बताउनु भयो । 

    ४. दक्षिण कोरिया भ्रमण गर्दै सञ्चारमन्त्री खरेल

    अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल दक्षिण कोरियाको भ्रमणमा जानुहुने भएको छ । बिहीवार बसेको मन्त्रीपरिषद् बैठककले खरेललाई दक्षिण कोरिया भ्रमण गर्न अनुमति दिएको हो । मन्त्री खरेल २०८२ कात्तिक २६ मा गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औं ग्लोवल आइसिटी लिडरसिप फोरममा सहभागी हुने कार्यक्रम रहेको छ । त्यस्तै सरकारले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाको लागि विश्व बैंकको व्यवस्थापनमा मल्टिडोनर ट्रष्ट फण्डबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खरेलले बताउनु भयो । त्यस्तै सरकारले विद्युत उत्पादन, प्रशारण र वितरण लगायतका विभिन्न आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

    ६. तिहार नजिकिएसँगै पाला बनाउन भ्याइ नभ्याइ

    तिहार नजिकिएसँगै भक्तपुरको कुम्हाले समुदाय माटोका पाला बनाउन व्यस्त छन् । अन्य समय भन्दा तिहारमा माटोका भाँडा बनाउन कुम्हाले समुदायलाई भ्याइनभ्याइ हुन्छ । अन्य सिजनको तुलनामा तिहारको समयमा माटोको दियो र पालाको माग धेरै हुन्छ । दीपावलीका लागि तिहारमा हरेक घर—घरमा दियो बालिने हुँदा पनि माटोको पालाको माग बढी हुन्छ । पछिल्ला वर्षहरूमा नेपाली बजारमा इलेक्ट्रोनिक बत्तिहरु धेरै आयात हुने भएपनि माटोका हस्तनिर्मित पालाहरूले मौलिकताका झल्काउने भएकाले बजारमा माग उच्च रहेको व्यवसायी बताउँछन् । पालाहरू तिहारको सांस्कृतिक पक्षसँग मात्र नभई परम्परागत नेपाली हस्तकला र काष्ठकला संरक्षणमा पनि महत्वपूर्ण भुमिका खेलेको छ ।

    ७. जेन—जी पुस्ताको आन्दोलनबाट देशले अकल्पनीय क्षति व्यहोर्नुप¥योः प्रहरी महानिरीक्षक खापुङ

    नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको जेन—जी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताउनुभएको छ । शुक्रवार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ‘राज्यको सबैभन्दा अग्र पंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको रुपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह, आक्रोश समानन्तर रुपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रुपमा स्थापित हुन सफल बताउनु भयो । 

    ८. चालु वर्षलाई चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धि वर्षका रुपमा अघि बढाएका छौँः अध्यक्ष दाहाल

    चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बोर्डले चालु वर्षलाई चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धि वर्षका रुपमा अघि बढाइरहेको बताउनुभएको छ । शुक्रवार बोर्डमा सिनेमा क्षेत्रहरुमा कम्तिमा २० वर्ष काम गर्नुभएका चलचित्रकर्मीहरुलाई परिचयपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बोर्डले चलचित्रकर्मीहरुका लागि २० वर्ष काम गर्नेहरुलाई ७५ हजार र ३० वर्ष काम गर्नेहरुलाई एक लाखको जीवन बीमा गर्ने निर्णय भएअनुसार काम अघि बढाइरहेको बताउनु भयो । उहाँले बिरामी भइ उपचार गराएपछि चिकित्सकको हस्ताक्षरसहित ३५ दिनभित्रमा औषधिको बिल लिएर इन्स्योरेन्स कार्यालयमा जानुपर्ने भएकाले ३० दिनभित्र बोर्डमा आइसक्न पनि आग्रह गर्नुभयो । 

    ९.कुनैपनि सम्भावित चुनौतिको सामना गर्न सदा तयार छौँः नेपाली सेना

    भदौ २३ र २४ गते देशभरका ४ सय ८४ स्थानमा आन्दोलन भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले शुक्रवार पत्रकार सम्मेलन गर्दै गत भदौ २३ र २४ गते जेन जी पुस्ताको आन्दोलन देशभरका ४ सय ८४ स्थानमा भएको नेपाली सेनाले जनाएको हो । सेनाकाअनुसार आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारी, ३ प्रहरी, १० कैदीबन्दी र अन्य ४१ जनाको मृत्यु भएको छ । पत्रकार सम्मेलनमा नेपाली सेनाका युद्धकार्य निर्देशनालयका निर्देशक मनोज थापाले आन्दोलनका क्रममा ६ सय ८८ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको बताउनु भयो । उहाँले २ सय ५९ निजी निवास, १ सय २८ व्यापारिक प्रतिष्ठान, १ सय ९८ राजनीतिक दलका पार्टी कार्यालय र ३ सय ७ वटा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको बताउनु भयो । 

    १०. ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का निम्ति कथा आह्वान

    बाह्रखरी मिडियाले ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का निम्ति कथा आह्वान गरेको छ । काठमाडौंमा शुक्रवार पत्रकार सम्मेलन गर्दै बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो । बाह्रखरी मिडियाले यस वर्षदेखि विगतका वर्षभन्दा पुरस्कार राशि बढाएको जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख, एक लाख  र ६० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बाह्रखरी मिडियाको भनाइ छ । यो पुरस्कार राशि विगतका वर्षहरूमा भन्दा बढी हो । संग्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । कथा लेखनको संवद्र्धन र प्रवद्र्धनका निम्ति यस प्रतियोगिता गरिएको बाह्रखरी मिडियाले जनाएको छ । 

    ११. चीनद्वारा लङ मार्च–८ ए रकेट प्रक्षेपण

    चीनले बिहीवार दक्षिणी टापु प्रान्त हेनानमा लङ मार्च–८ए वाहक रकेट प्रक्षेपण गरेको छ ।  जसले इन्टरनेट उपग्रहहरूको समूहलाई अन्तरिक्षमा पठाएको हो । रकेट बिहान ९ः३३ बजे हेनान व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण स्थलबाट उडान भरेको थियो । यसले कम–कक्ष इन्टरनेट उपग्रहहरूको १२ औं समूह, पेलोडहरूलाई सफलतापूर्वक पूर्वनिर्धारित कक्षामा राखेको चीनले जनाएको छ ।

    १२. जापानमा इन्फ्लुएन्जाका बिरामीहरु बढे

    सेप्टेम्बर २९ देखि अक्टोबर ५ सम्मको हप्तामा जापानमा इन्फ्लुएन्जाका केसहरूको संख्या अघिल्लो हप्ताको तुलनामा १.५ गुणा बढी भएको छ । जापान इन्स्टिच्युट फर हेल्थ सेक्युरिटीको तथ्याङ्कअनुसार अक्टोबर ५ मा समाप्त भएको हप्तामा जापानभरि कुल ६ हजार १३ केसहरू रिपोर्ट गरिएका थिए । जुन प्रतिसेन्टिनेल मेडिकल संस्थामा औसत १.५६ केसहरू थिए । जुन अघिल्लो हप्ता १.०४ केसहरू थिए । ओकिनावा प्रान्तले प्रतिसंस्था औसत १२.१८ केसहरूसहित उच्चतम संख्या रिपोर्ट गरेको छ । त्यसपछि टोकियो (३.३) र मियाजाकी (२.८९) छन् । यस वर्षको फ्लू सिजन जापानमा सामान्य भन्दा लगभग एक महिना अगाडि शुरु भएको छ । जुन विदेश यात्रामा वृद्धि, सार्वजनिक शतर्कतामा कमी र जलवायु उतारचढाव जस्ता कारकहरूको संयोजनले गर्दा हो । जापानको अनुगमन मापदण्ड अन्तर्गत जब प्रतितोकिएको मेडिकल संस्थामा इन्फ्लुएन्जाका केसहरूको औसत साप्ताहिक संख्या एक भन्दा बढी हुन्छ । यदि संख्या १० भन्दा माथि बढ्यो भने यो शतर्कता स्तरमा पुग्छ । 

    १३. पुटिन र सिरियाका अल–शाराबीच द्विपक्षीय भेट

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाली अन्तरिम नेता अहमद अल–शारासँग भेट गर्नुभएको छ । भेटमा द्विपक्षीय सम्बन्ध र मध्यपूर्वको अवस्थाबारे छलफल भएको हो । कार्यसूचीमा राजनीतिक, व्यापार, आर्थिक र मानवीय क्षेत्रमा रूसी–सिरियाली सम्बन्धको विकासको वर्तमान अवस्था र सम्भावनाहरूका साथै मध्यपूर्वको अवस्था पनि समावेश रहेको थियो । वार्तामा आफ्नो उद्घाटन भाषणमा पुटिनले दुई देशहरू बीचको विशेष सम्बन्धबारे टिप्पणी गर्नुभयो । द्विपक्षीय सम्बन्ध सधैं विशेष रूपमा मैत्रीपूर्ण रहेको बताउनु भयो । 

    १४. पुटिनसँग हंगेरीमा भेट हुन्छः ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार रुस–युक्रेन द्वन्द्व अन्त्य गर्ने उद्देश्यले हंगेरीको बुडापेस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने बताउनुभएको छ । दुई नेताबीचको टेलिफोन वार्तापछि उहाँले यस्तो जानकारी दिनुभएकोहो । ट्रम्पले दुई देशले अर्को हप्ता उच्चस्तरीय सल्लाहकारहरूको बैठक गर्ने सहमति भएको बताउनु भयो । जसमा विदेशमन्त्री मार्को रुबियोले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने र बैठकको स्थान निर्धारण गरिने बताउनु भयो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणको एक दिन अगाडि फोन वार्ता भएको हो । 

    १५. मङ्गोलियाको अधिकांश क्षेत्रमा भारी हिमपात

    मङ्गोलियाको ठूलो भागमा असामान्य रूपमा भारी हिमपात भएको छ । राष्ट्रिय मौसम विज्ञान तथा वातावरणीय अनुगमन एजेन्सीले बिहीवार यसबारे रिपोर्ट गरेको हो । मङ्गोलियाको राजधानी उलान बाटोर लगायत पश्चिमी प्रान्त उभ्स र खोभ्द र देशको मध्य भागमा प्रतिसेकेण्ड १६ मिटरसम्मको हावाको गतिमा हिउँ र हिमपात भइरहेको छ । प्रभावित क्षेत्रहरूमा औसत ४०–८० सेन्टिमिटर वर्षा भएको छ । पहाडी क्षेत्रहरूमा हिउँको गहिराइ १ सय ८० सेन्टिमिटरसम्म पुगेको छ । हिमपातपछि यी क्षेत्रहरूको तापक्रम माइनस १५ डिग्री सेल्सियसमा झर्ने अनुमान गरिएको छ । 

    १६. युगाण्डाको बैठकः बहुपक्षीयताको लागि एनएएम मन्त्रीहरूको आह्वान

    असंलग्न आन्दोलन (एनएएम) का सदस्य राष्ट्रहरूका विदेश मन्त्रीहरूले बढ्दो भूराजनीतिक तनावको बीचमा बहुपक्षीयताको लागि आह्वान गरेका छन् । बुधवार र बिहीवार युगाण्डाको राजधानी कम्पालामा बैठक भएको हो । बैठकको अध्यक्षता गरेका युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले कुनैपनि देशले अरूमाथि प्रभुत्व जमाउन खोज्नु नहुने बताउनु भयो । प्रत्येक राष्ट्रलाई आफ्नो विकास मार्ग छनौट गर्ने सार्वभौम अधिकार रहेको बताउनु भयो । मुसेभेनीले देशहरूलाई व्यापार, लगानी र पर्यटन जस्ता साझा लाभका क्षेत्रहरूमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । 

    १७. ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय

    नेकपा (एमाले)ले पार्टीको ११औँ महाधिवेशन अगामी मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ । शुक्रवार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहित प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन समेत सुझावसहित पारित गरिएको छ । उहाँले  जेन–जी पुस्ताले अघि सारेका मागहरु पुरा गर्न प्रतिनिधि सभा पुनस्र्थापनको मुद्दालाई अघि बढाउने निर्णय गरिएको पनि बताउनु भयो । उहाँले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको कारण पनि एमाले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिएको जिकिर गर्नुभयो ।

    १८. काँग्रेस केन्द्रीय समिति बैठक शनिवार पनि बस्ने

    नेताहरु बोल्ने क्रम नसकिएपछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक भोलि पनि बस्ने भएको छ । शुक्रवारको बैठकमा एजेण्डामाथि नेताहरुले आफ्नो धारणा राख्ने क्रमम नसकिएको शनिवार फेरी बस्नेगरी बैठक स्थगित गरिएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा केन्द्रीय सदस्यहरुले एजेण्डामाथि आफ्नो धारणा राखिरहेका छन् । उहाँले शनिवार पनि छलफल सकिने सम्भावना कम रहेकोले छठपछि मात्रै निष्कर्षमा पुगिने बताउनु भयो । बैठकमा केहीले विषेश महाधिवेशन गर्नुपर्ने तथा केहीले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् । 

    १९. प्रधानमन्त्री कार्कीको पनि सम्पती छानविन हुनुपर्छः वाइसिएल

    नेकपा (माओवादी केन्द्र) मा आवद्ध युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसियल)ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पती छानविन गर्न सरकारसँग माग गरेको छ । कार्की नेतृत्वको वर्तमान सरकारले पूर्वप्रधानन्यायाधीश समेत रहनुभएकी प्रधानमन्त्री कार्की पनि सम्पती छानविन हुनुपर्ने जिकिर गरेको हो । शुक्रवार अनेरास्ववियु क्रान्तिकारीसहित संयुक्त रुपमा पत्रकार सम्मेलन गरी वाइसियलका अध्यक्ष पुष्प ओलीले पूर्वप्रधानमन्त्रीहरुको मात्रै नभई पूर्वराजा, पूर्वराष्ट्रपति, राप्रपाका नेताहरुको पनि सम्पती छानविन गर्न सरकारलाई दबाब दिनुभयो । उहाँले भ्रष्टाचार गरेका सबैको सम्पती छानविन नभए आफूहरुलाई मान्य नहुने चेतावनी समेत दिनुभयो । 

    २०. सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउनु होः प्रधानमन्त्री कार्की

    प्रधानमन्त्री सुशील कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको बताउनुभएको छ । शुक्रवार अपरान्ह सिंहदरवारमा नेपालस्थित विभिन्न देशका राजदुत तथा कुटनीतिक नियोग प्रमुखहरुसँग पहिलो पटक सामुहिक भेटगरी उहाँले आफू नेतृत्वको अन्तरिम सरकारको कामको प्राथमिकताबारे ब्रिफिङ गर्नुभएको हो । परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहनुभएकी प्रधानमन्त्री कार्कीले नेपालको विदेश सम्बन्ध र त्यसका नीतिका बारेमा पनि आफ्नो धारणा राख्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो । त्यस अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहयोगको अपेक्षा गरिएको पनि बताउनु भएको थियो । उहाँले निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षक परिचालन र विदेशमा रहेका सबै नेपालीहरुलाई पनि मतदानमा सहभागी गराउने विषयमा पनि छलफल भइरहेको बताउनुभएको थियो । 

    २१. कलंकीमा सुविधा सम्पन्न ‘यात्रु प्रतिक्षालय’ देशभर विस्तार गर्ने लक्ष्य

    कलंकीमा नेपालकै पहिलोपटक सुविधासम्पन्न प्रतिक्षालय सञ्चालनमा आएको छ । देशको जुनसुकै ठाउँका लागि पनि टिकट काट्न सकिने अनलाइन प्लेटफर्म बससेवा डटकमले यात्रुहरुका लागि सुविधासम्पन्न प्रतिक्षालय सञ्चालनमा ल्याएसँग यात्रुहरुलाई गाडी कुरेर बाटोमा बस्नुपर्ने बाध्यता कम भएको छ । प्रतिक्षालयमा ७० देखि १ सय जनासम्म यात्रुहरु विश्राम गर्न कुर्सीहरु राखिएको छ । यात्रुहरुका लागि फ्री वाइफाईको व्यवस्था गरिएको छ भने चिसो, तातोपानीको समेत व्यवस्था गरिएको छ । बस सेवा डटकमका बिजनेस हेड डेनिसजंग थापाले बसको टिकट काट्ने यात्रुलाई फोकस गरेर नेपालमै पहिलो पल्ट सुविधा सम्पन्न यात्रु प्रतिक्षालय खोलिएको बताउनु भयो । उहाँकाअनुसार बस सेवा डटकमले सोही प्रतिक्षालयबाट पनि अनलाइन टिकटको व्यवस्था गरेर यात्रुहरुलाई गन्तव्यसम्म पु¥याउने व्यवस्था गरेको छ ।

    २२. निर्यातमा नगद अनुदान रोकिदाँ के हुन्छ ?

    सरकारले निर्यातमा दिँदै आएको नगद अनुदान तत्काललाई बन्द गरेको छ । गत बिहीवार उद्योग विभागले सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२÷८३ मा थप दायित्व सिर्जना हुनेगरी निवेदन नलिने भनेसँगै निर्यात व्यवसायीहरु यसबाट प्रभावित हुँदैछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन भन्दै विभागले आर्थिक वर्ष २०८१÷८२ को स्वघोषणाको विवरण उद्योग विभागमा नगर्न पनि सबै सरोबारवालाहरुलाई आग्रह गरेको छ । यसरी विभागले थप निवेदन लिन अस्वीकार गरेसँगै उद्योगी व्यवसायीले गत वर्षमा निर्यात गरेबापतको नगद अनुदान पाउने अवस्था छैन् । —न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आश्विन ३१ २०८२ शुक्रवार - २१:०७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij