२०८२ आश्विन ३१ गते शुक्रवार
१. सरकार मुलुकमा भयको साम्राज्य खडा गरेर आफ्नो आयु लम्ब्याउनेतर्फ लाग्योः महेश बर्तौला
नेकपा एमालेका नेता महेश बर्तौलाले मुलुक अहिले असंवैधानिक र अलोकतान्त्रिक मार्गबाट अघि बढिरहेको बताउनुभएको छ । बिहीवार केन्द्रिय कमिटीको बैठकस्थलमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यसलाई संवैधानिक र लोकतान्त्रिक मार्गमा ल्याउनु अहिलेको मुख्य कार्यभार भएको जिकिर गर्नुभयो । निर्वाचन र संसद पुनःस्थापनाको बाटोबाटै यसलाई सही दिशामा लैजान सकिने बताउनु भयो । सरकारको गतिविधि र क्रियाकलाप नियाल्दा तोकिएको मितिमा निर्वाचन हुने अवस्था नदेखिएको दाबी गर्दै सरकार मुलुकमा भयको साम्राज्य सिर्जना गरेर त्यसमार्फत आफ्नो आयु लम्ब्याउने चालमा रहेको आरोप लगाउनु भयो ।
२. श्रीलंकाकी प्रधानमन्त्री हरिनी अमरसुरिया नयाँ दिल्लीमा
श्रीलंकाकी प्रधानमन्त्री हरिनी अमरसुरिया आफ्नो पहिलो भ्रमणमा नयाँ दिल्ली आइपुग्नुभएको छ । अमरसुरिया पदभार ग्रहण गरेपछि भारतको पहिलो भ्रमणको लागि बिहीवार नयाँ दिल्ली आइपुग्नुभएको हो । यो भ्रमणले दुई देशहरू बीचको नियमित र घनिष्ठ सम्बन्धको परम्परालाई निरन्तरता दिने अपेक्षा गरिएको छ । जसले मित्रताको गहिरो सम्बन्धलाई बलियो बनाउने विश्वास छ ।
३. मधेसको चौथो मुख्यमन्त्रीको रुपमा जितेन्द्र सोनलद्वारा शपथ ग्रहण
मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा जितेन्द्र सोनलले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराउनुभएको हो । सोनलसँगै दुई जना विना विभागीय मन्त्रीले समेत शपथ ग्रहण गर्नुभएको छ । जनमत पार्टीबाट महेश यादव र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट कनिश पटेलले विना विभागीय मन्त्रीको रुपमा शपथ लिनुभएको छ । सोनल बुधवार मधेसको चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त हुनुभएको थियो ।
४. पदभार ग्रहणसँगै मुख्यमन्त्री सोनलको निर्णयः हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता
मधेस प्रदेशका चौथो मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेसंँगै नव नियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणसँगै उहाँले हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता दिने निर्णय गर्दै जनताको भावनालाई कदर गर्ने काम पहिलो प्राथमिकतामा राखिने बताउनु भयो । उहाँले बाँकी निर्णयहरु मन्त्री परिषद्बाट हुने र जानकारी गराइने बताउँदै तत्काल जनताको आवाज, गुनासो र भावना समेटिने कार्यक्रम हेल्लो सिएमलाई निरन्तरता दिने निर्णयमा हस्ताक्षर भएको बताउनु भयो ।
५. निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको संवाद शुरु
निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको संवाद शुरु भएको छ । बिहीवार बिहान निर्वाचन आयोगमा विभिन्न राजनीतिक दलहरुसँगको छलफल शुरु भएको हो । निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुसँग छलफल शुरु गरेको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभाको नर्वाचन गराउने मिति तोकेको छ । राजनीतिक दलहरुसँग निर्वाचनबारे कुनै छलफल नै नगरिएको भन्दै सरकारको आलोचना समेत हुँदै आएको छ । नेकपा एमालेसहितका नेपाली काँग्रेस लगायत राजनीतिक दलहरुले संसद पुनःस्थापना हुनुपर्ने माग गरेका छन् ।
६. तिहारः सजिँदै बजार, बढ्दै चहलपहल
तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । काठमाडौंको मुख्य बजार असन, इन्द्रचोक, मख्खन चोकमा अझ बढी चहलपहल देख्न सकिन्छ । तिहारका लागि चाहिने सामान किन्नेदेखि बजार हेर्न आउने मानिसको भीड छ । सडकदेखि पसल, घरसम्म झकिझकाउ र झिलिमिली पार्ने काम बढ्दैछ । बजारमा भाइ मसला, विभिन्न रंग, फूलमाला, कपडासम्मको रौनक छ । तिहारमा टीका लाउन÷लगाउन जानेहरुले त सप्तरंगी टीकादेखि भाइ मसलासम्म किन्न भ्याइसकेका छन् ।
७. जसपा, नेपाल मधेसको नयाँ नेतृत्वका लागि उम्मेदवार दिएका योगेन्द्र यादवद्वारा निर्वाचन बहिष्कार
जनता समाजवादी पार्टी, नेपाल मधेसको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया जारी रहेको समयमा एक पक्षले निर्वाचन नै बहिष्कार गर्ने घोषणा गरेको छ । नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन गरेर मनोनयन प्रक्रिया चलिरहेको समयमा अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले अधिवेशन बहिष्कारको घोषणा गर्नुभएको हो । उहाँका साथै रौतहट, सप्तरी, बारा, धनुषा र सर्लाही जिल्लाका जिल्ला अध्यक्षहरुले पनि यादवलाई समर्थन जनाएका छन् । जसपा, नेपालको विधानविपरित अधिवेशन भइरहेकोले आफूहरुले अधिवेशन बहिष्कार गरेको अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले बताउनु भयो ।
८. जनस्वराज पार्टी मधेस प्रदेशमा तटस्थ बस्ने
जनस्वराज पार्टी मधेस प्रदेशमा तत्काल तटस्थ बस्ने भएको छ । जनमत पार्टी छोडेर नवगठित जनस्वराज पार्टीमा लाग्नुभएका मधेस प्रदेशका निःवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले तत्काल तटस्थ बस्ने बताउनुभएको हो । जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर निःवर्तमान मुख्यमन्त्री सिंहले अहिले आफ्नो दल तटस्थमा बस्ने जानकारी दिनुभयो । अहिले सनाखत पक्रिया चलिरहेको समयमा कुनै एक पक्षलाई समर्थन दिने पक्षमा आफूहरु नरहेको बताउनु भयो ।
९. खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र न्याम्सबीच सहकार्य
नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बीच खेलाडी र प्रशिक्षकलाई विशेष सेवा प्रदान गर्ने उद्देश्यले सहकार्य भएको छ । राखेपमा बिहीवार एक कार्यक्रमकाबीच राखेप र प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षकहरूलाई आवश्यकताअनुरूप विशेष सेवा दिन सम्झौता गरेका छन् । राखेपका सदस्यसचिव टंकलाल घिसिङ र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रा. डा. भूपेन्द्रकुमार बस्नेतबीच उक्त सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
१०. कोप–३०ः नेपालले ग्लोवल गोल अन अडप्टेसनका इण्डिकेटरहरूमा हिमालका मुद्दा समावेश गर्न पैरवी गर्नुपर्नेमा विज्ञहरुको जोड
विज्ञहरुले विश्व जलवायु सम्मेलनको ३० औँ बैठक कोप–३० मा नेपालले जलवायु अनुकुलनका विश्वव्यापी लक्ष्य सम्बन्धी सूचकहरुमा हिमालमा मुद्दा समावेश गराउने गरी पैरवी गर्नुपर्ने सुझाव दिएका छन् । प्रकृति रिसोर्सेज सेन्टरले काठमाडौंमा कोप—३० को एजेण्डा र नेपालको प्राथमिकता सम्बन्धमा नागरिक संघसंस्थासँग गरेको छलफलमा विज्ञहरुले हिमाली क्षेत्रका एजेण्डाहरूलाई जिजिए (जलवायु अनुकुलन सम्बन्धी विश्वव्यापी लक्ष्य) को सूचकमा समावेश गर्ने गरि पैरवी गर्नुपर्ने आवश्यकता आँैल्याएका हुन् । विश्व सम्मेलनमा एकल उपस्थिति र मागको कुनै अर्थ नरहने भन्दै उनीहरुले स्वार्थ मिल्ने र हिमाल भएका देशहरुसँगको सहकार्यमा जिजिएको सूचकमा हिमालमा मुद्दा समावेश गराउने गरी पहल बढाउनुपर्नेमा जोड दिएका हुन् ।
११. किसान भन्छन्ः देशमै पर्याप्त छ, तिहारमा फूल आयात गर्नुपर्ने अवस्था छैन
नेपालीहरुकोमहान पर्व तिहार नजिकिँदै गर्दा बजारमा मखमली र सयपत्री फूलको माग तिब्र रुपमा बढेको छ । झिलीमिली बत्ती, देउसी भैलो र फूलमालाको रौनकले सजिने यो पर्वमा फूल व्यवसाय समेत फस्टाउँदै गएको देखिन्छ । तिहारमा मखमली फूललाई विशेष महत्व दिइन्छ । अर्कोतर्फ सयपत्री फूल मन्दिर, घर र पूजापाठहरुमा प्रयोग हुने भएकाले यसको माग झनै उच्च हुन्छ । यही मागलाई मध्यनजर गर्दै मकवानपुरका कृषक परम्परागत खेती छाडेर व्यवसायिक फूल खेतीतर्फ आकर्षित हुँदै गएका छन् । हेटौँडा उपमहानगरपालिका अन्तर्गतका विभिन्न वडा, मनहरी, थाहा नगरपालिका लगायतका क्षेत्रहरूमा सयपत्री र मखमली फूल खेती विस्तार भइरहेको छ ।
१२. काँग्रेस केन्द्रिय समिति बैठकः सरकार प्रतिशोधमा लाग्यो, संसद विघटन संविधान विपरित
नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकमा सात जना सदस्यहरुले धारणा राखेका छन् । बिहीवार दिउँसो बसेको केन्द्रिय समितिको बैठकमा सात जना मात्रै सदस्यहरुले आफ्ना धारणा राखेका छन् । बैठकले पार्टी सभापति शेरबहादुर देउवामाथि जेन—जी आक्रमणमा भएको सांघातिक हमलाप्रति निन्दा गरेको छ । बैठकमा बोल्ने सदस्यहरुले महाधिवेशनबारे स्पष्ट हुनुपर्ने धारणा राख्नुभएको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भयो ।
१३. कर्णाली याक्स र नेबिकोबीच सहकार्य
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले सहप्रायोजनका लागि नेबिको लिमिटेडको साथ पाएको छ । एनपिएलको दोस्रो संस्करण त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा आगामी मंसिर १ देखि २७ सम्म हुँदैछ । त्यसका लागि कर्णाली याक्स स्पोट्र्स प्रा।लि। र नेबिको लिमिटेडबीच सह प्रायोजनका लागि सम्झौता भएको छ । बिहीवार आयोजित एक कार्यक्रमबीच कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो सम्झौता एक वर्षका लागि मात्र हो ।
१४. एमाले केन्द्रिय कमिटी बैठकः दुई दिनमा १ सय ८४ जनाले राखे धारणा, गणतन्त्रको रक्षा गर्न संसद पुनःस्थापना एकमात्र विकल्प
नेकपा एमालेको केन्द्रिय कमिटीको बैठकको दोस्रो दिन १ सय ३४ जना केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राखेका छन् । बुधवारबाट शुरु भएको बैठकको पहिलो दिन ५० जना सदस्यहरुले आफ्ना धारणा राखेका थिए । दुई दिनमा कुल १ सय ८४ जना केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनु भयो । उहाँकाअनुसार केन्द्रिय समितिका ३ सय ६७ जना केन्द्रिय सदस्यहरु रहेकोमा १ सय ८४ जना केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन् ।
१५. एमाल केन्द्रिय कमिटी बैठक शुरु
नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । बुधवारबाट शुरु भएको केन्द्रिय कमिटी बैठक बिहीवार बिहानैबाट शुरु भएको हो । तीन दिनसम्म चल्ने बैठकमा केन्द्रिय कमिटीका सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ । बुधवार ५० जनाले आफ्नो धारणा राख्नुभएको थियो । प्रत्येक केन्द्रिय सदस्यलाई बोल्नका लागि ३ मिनेटको समय दिइएको छ ।
१६. ‘एकै ठाउँमा ५० थरिका गोदावरी फूलः पाइन्छन् पचास हजारसम्मका बिरुवा’
जावलाखेल फुटबल मैदानमा जारी फ्लोरिकल्चर एशोसिएशन नेपालको गोदावरी फूल प्रदर्शनीमा ५० प्रकारका गोदावरी फूलहरु रहेको व्यवसायीहरुले बताएका छन् । १८ औं संस्करणको उक्त मेलामा गोदावरी र अन्य प्रजातिका गरी ४ सय ५० फूलहरु उपलब्ध रहेको आयोजकले जनाएको हो । गोदावरी फूलको विशेष प्रदर्शनी रहे पनि अन्य प्रजातिका फूलहरु पनि तिहार र छठ विशेषका लागि राखिएको व्यवसायीहरुको भनाइ छ । फूल व्यवसायी कुमार बस्नेतले आफूसँग चालिसदेखि पचास प्रजातिका गोदावरी फूलहरु उपलब्ध रहेको बताउनु भयो ।
१७. इस्तानबुल शिपयार्डमा विस्फोटः १ जनाको मृत्यु, ४ घाइते
इस्तानबुलको तुज्ला जिल्लाको शिपयार्डमा मर्मतसम्भार भइरहेको जहाजको इन्जिन कोठामा बुधवार विस्फोट हुँदा एक कामदारको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् । इस्तानबुल गभर्नरको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार निजी शिपयार्डमा मर्मतसम्भार कार्यको क्रममा कार्बन डाइअक्साइड सिलिन्डर फुटेर विस्फोट भएको हो । विस्फोटपछि स्वास्थ्य प्रहरी, अग्निनियन्त्रक र प्रकोप व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको थियो । अधिकारीहरूले घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरेका छन् । इस्तानबुलको एशियाली पक्षमा अवस्थित तुज्लाले टर्कीको सबैभन्दा ठूलो शिपयार्ड क्षेत्रहरूमध्ये एक होस्ट गर्दछ ।
१८. काबुलमा विस्फोट
अफगानिस्तानको राजधानी काबुलमा बुधवार विस्फोट भएको छ । जसले गर्दा बासिन्दाहरूमा त्रास फैलिएको छ । अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले उक्त विस्फोट तेल ट्याङ्कर विस्फोट भएको बताउनु भयो । बासिन्दाहरूलाई चिन्ता नगर्न आग्रह गर्नुभयो । काबुल शहरको वरपर एउटा तेल ट्याङ्कर विस्फोट भएको र जसबाट आगो लागेकाले धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनु भयो । विगत केही दिनदेखि अफगान र पाकिस्तानी सीमा बलहरू बीच छिटपुट झडपहरूको बीचमा दुर्घटना भएको हो ।
१९. केन्याका पूर्व प्रधानमन्त्री रैला ओडिंगाको निधन
केन्याका पूर्वप्रधानमन्त्री रैला ओडिंगाको बुधवार निधन भएको छ । भारतको एक अस्पतालमा हृदयघातका कारण निधन भएको केन्याका राष्ट्रपति विलियम रुटोले नैरोबीमा टेलिभिजनमा आयोजित पत्रकार सम्मेलनमा बताउनु भयो । ओडिंगाको सबै सहभागी सम्मानका साथ राज्य अन्त्येष्टि गरिने बताउनु भयो । रुटोले सात दिनको राष्ट्रिय शोक अवधि घोषणा गर्दै सो अवधिमा केन्याभर र विदेशमा रहेका कूटनीतिक नियोगहरूमा झण्डा आधा झुकाइने बताउनु भयो ।
२०. केन्याका राष्ट्रपतिद्वारा राष्ट्रिय पूर्वाधार कोष स्थापना गर्ने घोषणा
केन्याका राष्ट्रपति विलियम रुटोले सोमवार सडक, पानी, ऊर्जा र डिजिटल कनेक्टिभिटीमा ठूलो मात्रामा लगानी गर्न समर्पित राष्ट्रिय पूर्वाधार कोष स्थापना गर्ने योजना घोषणा गर्नुभएको छ । राष्ट्रपतिले कोन्जा टेक्नोपोलिसमा पूर्वाधार र स्मार्ट सिटी विकासको पहिलो चरणको शुरुवात कार्यक्रममा यो घोषणा गर्नुभएको हो ।
२१. डच मिडफिल्डर फ्रेन्की डे जोङद्वारा बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षर
एफसी बार्सिलोनाले बुधवार डच अन्तर्राष्ट्रिय मिडफिल्डर फ्रेन्की डे जोङसँग सम्झौतामा हस्ताक्षर गरेको छ । उनी २०२९ सम्म क्लवमा रहने बताइएको छ । २८ वर्षीय खेलाडीले बार्सिलोनासँग एक दशक पूरा गर्नेछन् । २०१९ मा अजाक्सबाट सामेल भएका थिए । डे जोङले क्लवका लागि २ सय ६७ खेल खेलेका छन् । १९ गोल गरेका छन् । डे जोङले गर्मीको समयमा नवीकरणको बारेमा वार्ता भइरहेको पुष्टि गरेका थिए ।
२२. पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम लागू
पाकिस्तान र अफगानिस्तानले बुधवार दुई पक्षबीच युद्धविरामको घोषणा गर्न छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् । जुन लागू भएको छ । पाकिस्तानको विदेश कार्यालयले बुधवार भनेको छ कि अफगानिस्तान पक्षको अनुरोधमा, पाकिस्तान र अफगानिस्तान सीमा तनाव कम गर्न ४८ घण्टाको अस्थायी युद्धविराममा सहमत भएका हौँ । यस अवधिमा दुवै पक्षले रचनात्मक वार्तामार्फत यो जटिल तर समाधान गर्न सकिने मुद्दाको सकारात्मक समाधान खोज्न इमान्दार प्रयास गर्नेछन् ।
२३. भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु
पश्चिमी भारतको राजस्थान राज्यमा एक निजी बसमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । राजस्थानको राजधानी जयपुरबाट लगभग ५ सय ४८ किलोमिटर पश्चिममा रहेको जैसलमेर जिल्लाको थैयत गाउँ नजिकै सडकमा गुडिरहेको बसमा आगलागी भएको थियो । अधिकारीहरूले ५७ जना यात्रु बोकेको बस राजमार्गमा रहेको बेला पछाडिको भागबाट धुवाँ निस्कन थालेको बताएका छन् । चालकले बस रोके तर केही समयमै बस आगोले जल्यो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
२४. ‘निर्वाचन बिथोल्न केही तत्वहरु सक्रिय छन्ः गृहमन्त्री
गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरु निर्वाचनको विथोल्नको लागि सक्रिय भएको आरोप लगाउनुभएको छ । जिल्ला समन्वय समिति भक्तपुरको कार्यलय अनुगमनको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनको माहोल बिगार्न लाग्नेहरुलाई सरकारले सम्झाईबुझाई गर्ने बताउनु भयो । सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने उहाको भनाई छ ।
२५. निर्वाचन निष्पक्ष हुनेमा शंका छः देव गुरुङ
नेकपा ९माओवादी केन्द्र० का नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गर्नुभएको छ । निर्वाचन आयोगले बिहीवार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहेपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उहाँले बताउनु भयो । सरकारले दलहरुलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनको लागि कुनै भुमिका नखेलेको उहाँको आरोप छ ।
२६. नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको छः कृषिमन्त्री परियार
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा। मदन परियारले नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको बताउनुभएको छ । ४५ औँ खाद्य दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो वर्षहरुमा नेपालले खाद्य सुरक्षा प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको उहाँले बताउनु भयो । भोकमरी सूचाङ्कमा सन् २००० मा ३७ अंक प्राप्त गरेको नेपालले सन् २०२५ मा आईपुग्दा १४ दशमलव ८ अंक प्राप्त गरी उल्लेख्य सुधार गरेको उहाँले जानकारी दिनुभयो । अझैपनि नेपाल मध्यम जोखिमयुक्त मुलकमा रहेको उहाँको भनाई छ । हिमाली क्षेत्रमा रहेका जनतामा बढी खाद्य असुरक्षा रहेको उहाँले बताउनु भयो ।
२७. संसद पुनस्र्थापनाको बाटोमा लाग्नु हुँदैनः राजेन्द्र श्रेष्ठ
जनता समाजवादी पार्टी ९जसपा० संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले संसद पुनस्र्थापनाको बाटोमा लाग्न नुहने बताउनुभएको छ । निर्वाचन आयोगले बिहीवार दलहरुसंग आयोजना गरेको छलफलमा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन—जी आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि संसद पुनस्र्थापनाको बाटोमा लाग्न नहुनेमा जोड दिनुभयो । सरकारले घोषणा गरेको फागुन २१ मा निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्न सबै लाग्नुपर्ने उहाँको भनाई छ ।
२८. ओली सरकारले नियुक्त गरेका भारतबाहेक ११ देशका राजदुतलाई सरकारले फिर्ता बोलायो
सरकारले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदुतहरूलाई फिर्ता बोलाएको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदुतहरूलाई फिर्ता बोलाएको हो ।
२९. कर्मचारीहरूलाई थप सुविधा दिएर भएपनि सेवालाई निरन्तरता दिन क्यानलाई प्रधानमन्त्री कार्कीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई कर्मचारीहरूलाई सुविधाजनक काममा लगाएर भएपनि सेवा निरन्तर राख्न निर्देशन दिनुभएको छ । बिहीवार क्यान बोर्डसँगको छलफल प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको क्यानकी बोर्ड सदस्य रोशन चित्रकारले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा जिल्ला अदालत काठमाडौंको भवनमा आगलागी भएको कारण कठिनाई भएको भन्दै बबरमहलस्थित प्राधिकरणको कार्यालयबाट सेवा सञ्चालन गर्नेबारे पनि छलफल भएको छ ।
३०. केपी शर्मा ओलीसहितका नेताहरूलाई सीमाबन्दीमा राखेर सरकार स्वयंले निर्वाचनको वातारण बिगारेको छः एमाले उपाध्यक्ष बराल
नेकपा (एमाले) का उपाध्यक्ष गुरु बरालले सरकारले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई सीमाबन्दीमा राखेको उल्लेख गर्दै यही अवस्थामा निर्वाचन सम्भव नरहेको बताउनुभएको छ । निर्वाचन आयोगले बिहीवार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शीर्ष राजनीतिक नेतृत्वलाई सीमाबन्दीमा राखेर राहदानी समेत रोकेको कारण निर्वाचनको वातावरणमा बाधा पुगेको बताउनु भयो ।
३१. जेन–जीका माग पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको सञ्चारमन्त्री खरेलको दाबी
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी पुस्ताका मागहरु पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री खरेलले यस्तो दाबी गर्नुभएको हो । उहाँले आन्दोलनले उठाएका मुद्दाहरु आगामी पाँच महिनाभित्र पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । भ्रष्टाचारविरुद्धका युवा आन्दोलनका म्याण्डेटहरू पूरा गर्न सरकारले निरन्तर प्रयास गरिरहेको उहाँको भनाइ छ । उहाँले आफ्नो कार्यकालभर केही गर्न नसकेपनि नियतवस गलत कार्य नगर्ने पनि बताउनु भयो ।
३२. निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार सक्रिय बनोस्ः लोसपा महासचिव झा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका महासचिव डा. सुरेन्द्र झाले सरकार तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन निष्पक्ष र भयरहित वातावरण निर्माण गर्ने कुरामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । निर्वाचन आयोगले बिहीवार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आवधिक निर्वाचन नै लोकतन्त्रको गहना भएको कारण लोसपा निर्वाचनको पक्षमा रहेको बताउनु भयो ।
३३. वर्तमान संसदीय प्रणाली र संविधानबाट मुलुकमा विद्यमान समस्याहरु हल गर्न सकिँदैनः महामन्त्री गुरुङ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री राजेन्द्र गुरुङले वर्तमान निर्वाचन प्रणाली र संविधानबाट मुलुकमा विद्यमान समस्याहरुको समाधान गर्न नसकिने टिप्पणी गर्नुभएको छ । निर्वाचन आयोगले बिहीवार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री गुरुङ यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले २१ फागुनमा हुने निर्वाचनले मुलुकलाई स्थायित्व नदिने तथा जेन–जी आन्दोलनका मागहरुलाई समेत सम्बोधन गर्न नसक्ने जिकिर गर्नुभयो ।
३४.सरकारले निर्वाचन गराउने जोश र जाँगर देखाएको छैनः मीन विश्वकर्मा
नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले निर्वाचन गराउने जोश र जाँगर देखाउन नसकेको टिप्पणी गर्नुभएको छ । निर्वाचन आयोगले बिहीवार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचन आयोग र राष्ट्रपतिबाट दलहरूलाई बोलाएर गरिएको परामर्शमा मुख्य दलहरूले निर्वाचनमा भाग लिने प्रतिवद्धता जनाए पनि सरकारले शान्ति, सुरक्षा र निष्पक्ष वातावरण निर्माणमा आवश्यक चासो नदेखाएको उहाँको आरोप छ ।
३५. धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुग्यो
धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार गत भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब ३० करोड कायम भएको छ । २०८१ भदौ मसान्तमा बजार पुँजीकरण ४१ खर्ब ०३ अर्ब ६२ करोड रहेको थियो । त्यतिबेला बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७१।८८ प्रतिशत रहेकोमा गत भदौमा ७३।१५ प्रतिशत रहेको छ । २०८१ भदौ मसान्तमा २५८०।७६ रहेको नेप्से सूचकांक गत भदौ मसान्तमा २६७२।२५ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij