२०८२ आश्विन २७ गते सोमवार
१. सुशासन स्थापित गर्न एन्फा अध्यक्ष असफल भएको वरिष्ठ उपाध्यक्ष खड्काको आरोप
अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले आफ्ना अध्यक्ष पञ्कजविक्रम नेम्वाङसँग फुटबलप्रति आस्था र चिन्ता नभएको भन्दै राजीनामा दिनुपर्ने बताएका छन् । नक्सालमा सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काले वर्तमान अध्यक्ष नेम्वाङको राजीनामा माग गरेका हुन् । फुटबलमा सुशासन कायम गर्न असफल भएको र यसको विकासमा काम गर्न असमर्थ रहेकाले अध्यक्ष नेम्वाङले राजीनामा दिनुपर्ने वरिष्ठ उपाध्यक्ष खड्काको माग छ । वर्तमान अध्यक्ष पञ्कजविक्रम नेम्वाङको नेतृत्वमा पाँच शुक्रहरू समर्थक शक्ति, सामथ्र्य सदस्य संस्थाहरू, सामुहिक विश्वास, सम्पती, खेलाडी र सुशासन प्रतिवद्धता भन्ने एजेण्डासहित गत निर्वाचनमा होमिएको उल्लेख गरे । यही सूत्रमा निर्वाचित भएपनि त्यसअनुरूप काम गर्न नसकिएको उनको भनाइ छ ।
२. सुन तस्करी प्रकरणमाः माओवादी नेता महरालाई अदालत उपस्थित गराइयो
पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । सोमवार अपरान्ह महरालाई जिल्ला अदालतमा उपस्थित गराइएको हो । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो ९सीआईबी०ले आईतवार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ । सो प्रकरणमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो । भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्शन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।
३. राष्ट्रिय सभा अध्यक्ष दाहाल असोज ३१ गते जेनेभा जाँदै
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल जेनेभा जानुहुनेभएको छ । अन्तरिव्यवस्थापिका मञ्चको १ सय ५१ औँ भेलामा भाग लिन अध्यक्ष दाहाल असोज ३१ गते जेनेभा जानुहुने भएको हो । आईतवार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्नुभएको थियो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले आफ्नो प्रधानमन्त्रीसँगको भेट नियमित जस्तै रहेको र तीन पटक भेटिसकेको जानकारी दिनुभयो । प्रधानमन्त्रीसँगको भेटमा संघीय संसदको नेतृत्व गर्दै आफू जेनेभा जान लागेको र त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनु भयो । मानवीय मान्यताहरु कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने भन्ने थिम यस वर्षको अन्तरिव्यवस्थापिका मञ्चको रहेको बताउनु भयो ।
४. योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षा परिषद्सँग प्रधानमन्त्री कार्कीको छलफल
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षा परिषद्सँग छलफल गर्नुभएको छ । सोमवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीले छलफल गर्नुभएको हो । योजना आयोगसँग मध्यान्ह साढे १२ बजे, पर्यटन मन्त्रालयसँग १ बजे र २ बजे सुरक्षा परिषद्सँग छलफल गर्नुभएको हो । योजना आयोगसँगको छलफलमा राष्ट्रिय आयोजनाहरुको अवस्थाका बारेमा जानकारी लिनुभयो ।
५. प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटः जेन—जीलाई राष्ट्रिय सभामा प्रतिनिधित्व गराउने विषयमा चासो
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा जेन—जीको प्रतिनिधित्व गराउने विषयमा चासो राख्नुभएको छ । आईतवार प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगको भेटमा सो चासो राख्नुभएको हो । प्रधानमन्त्री कार्कीसँग राष्ट्रिय सभामा जेन—जीहरुको विषयमा पनि छलफल भएको राष्ट्रिय सभाका अध्यक्ष दाहालले बताउनु भयो । राष्ट्रिय सभामा आगामी फागुन २१ गतेबाट १८ जना सदस्यहरुको पदावधि सकिँदैछ । रिक्त पदमा निर्वाचन गराउने विषयमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग परामर्श गर्नुभएको थियो । त्यस सन्दर्भमा जल्दोबल्दो शक्तिको रुपमा उदाएको जेन—जीलाई पनि समावेश गर्ने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको थियो । अध्यक्ष दाहालले न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्वाचन आयोगको कार्यतालिकामा प्रधानमन्त्री कार्की सहमत रहनुभएको पनि बताउनु भयो । अध्यक्ष दाहालकाअनुसार राष्ट्रिय सभाको निर्वाचन समयमै गराउने विषयमा प्रधानमन्त्री कार्की सकारात्मक रहनुभएको छ ।
६. पेट पाल्न नसकेपछि माटोको विकल्प खोज्दै कुम्हाल समुदाय
चाडबाडका बेलामा कुम्हाले समुदायलाई माटोका भाँडा बनाउन भ्याइनभ्याई हुन्छ । तर अरु बेला भने उनीहरूले काम नै पाउँदैनन् । माटोका भाँडाको बजार अरु बेलाभन्दा चाडपर्वका बेलामा राम्रो हुन्छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २२ बसहियाका ७० वर्षीय उपेन्द्र पण्डित लक्ष्मीपूजा र आस्थाको पर्व छठका लागि माटाको भाँडाकुँडा बनाउनदेखि बेच्नमा व्यस्त हुनुहुन्छ । चाडबाडका समयमा माटोका भाँडाकुँडाको कारोबार राम्रो हुने भएकाले कुम्हाल समुदायका व्यक्तिहरुको व्यस्तता बढेको छ । तर माटोको भाँडो बनाउने पेशा लोप हनुका साथै विद्युतीय बल्वले माटोका दियोको स्थान लिन थालेपछि उपेन्द्रलाई चिन्ता लागेको छ । दीपावली, छठ लगायतका पर्वमा माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामग्रीको माग बढ्छ । तर कुम्हाल समुदाय भने मेहनतअनुसारको मूल्य नपाएको गुनासो गर्छन् । कुम्हाल पेशामै लागेर घर परिवार चलाउन भने समस्या हुँदै आइरहेको गुनासो गर्छन् ।
७. खेलकुद विज्ञान अनुसन्धानद्वारा ५८ खेलाडीको परीक्षण
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको अवस्था अध्ययन र परीक्षण गरेको छ । राखेपमा सोमवार एक कार्यक्रमका बीच केन्द्रका प्रमुख फिजियोथेरापिस्ट लक्ष्मण अधिकारीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई सोमबार प्रतिवेदन हस्तान्तरण गरे । प्रतिवेदन हस्तान्तरण गर्नुअघि प्रमुख अधिकारीले सदस्यसचिव घिसिङ, राष्ट्रिय टिम तयारीका प्रतिनिधि, सम्बन्धित खेलका प्रशिक्षकलगायतको उपस्थितिमा खेलाडीमा देखिएका सुधारका पक्ष, राम्रो पक्षलगायतका विषयमा जानकारी गराएका थिए । मिसन–२०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका उसु, कुस्ती, तेक्वान्दो, कराते, बक्सिङ र भलिबल बाहेक क्रिकेट र फुटबल गरी ८ खेलका ५८ खेलाडीको परिक्षण गरी प्रतिवेदन बुझाइएको छ । प्रमुख अधिकारीले बाँकी खेलाडीको पनि परिक्षण गर्ने बताए ।
८. इजिप्टमा आज गाजा शान्ति शिखर सम्मेलन हुँदैः ट्रम्प र सिसीले अध्यक्षता गर्ने
इजिप्टको रातो सागरको रिसोर्ट शहर शर्म अल–शेखमा सोमवार अन्तर्राष्ट्रिय शिखर सम्मेलन आयोजना हुँदैछ । इजिप्टको राष्ट्रपति कार्यालयले शनिवार यसबारे घोषणा गरेको थियो । २० भन्दा बढी देशका नेताहरूको सहभागितामा इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त रूपमा बैठकको अध्यक्षता गर्ने बताइएको छ । विज्ञप्तिअनुसार शिखर सम्मेलनले गाजा पट्टीमा युद्ध अन्त्य गर्ने, मध्यपूर्वमा शान्ति र स्थायित्व ल्याउने प्रयासहरू बढाउने र क्षेत्रीय सुरक्षा र स्थिरताको नयाँ चरणको सुरुवात गर्ने लक्ष्य राखेको छ । इजिप्ट, कतार, टर्की र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा दुई पक्षहरू बीच शर्म अल शेखमा तीन दिनको गहन वार्तापछि इजरायल र हमास बीचको युद्धविराम सम्झौता शुक्रवारदेखि लागू भएको छ ।
९.पाकिस्तान—अफगानिस्तान सीमा क्षेत्रमा झडपः ५८ पाकिस्तानी र ९ अफगानी सैनिक मारिए
पाकिस्तान र अफगानिस्तानबीच सीमा क्षेत्रमा झडप भएको छ । पाकिस्तानले दुई देशको सीमा क्षेत्रमा अफगान उत्तेजनाको निन्दा गर्दै अफगान सरकारलाई आफ्नो भूभाग आतंकवादी तत्वहरूले पाकिस्तान विरुद्ध प्रयोग नगर्ने सुनिश्चित गर्न माग गरेको छ । अफगानिस्तानले कसैद्वारा आफ्नो भूमिको कुनैपनि उल्लङ्घनलाई अनुत्तरित नबनाउने बताएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा पाकिस्तानको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सले तहरीक–ए–तालिबान पाकिस्तानको आतंकवादी समूहका आतंककारीहरूले पाकिस्तान–अफगानिस्तान सीमामा पाकिस्तानमा बिना उक्साहट आक्रमण गरेको बताएको छ । पाकिस्तानको सुरक्षा बलले आक्रमणलाई विफल पारेको बताएको छ । झडपमा २३ पाकिस्तानी सैनिक र २०० भन्दा बढी आतंककारी मारिएका छन् । तालिबान शिविर र चौकीहरू, आतंकवादी तालिम केन्द्रहरू र अफगान क्षेत्रबाट सञ्चालन हुने समर्थन नेटवर्कहरू विरुद्ध सटीक गोलीबारी र हमलाहरू साथै भौतिक छापा मारिएको थियो ।
१०. बग्राम एयरबेस कुनैपनि देशलाई हस्तान्तरण गर्दैनौँः अफगानिस्तान
अफगान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले बग्राम एयरबेसको बारेमा संयुक्त राज्य अमेरिकासँग भएको भनिएको सम्झौतालाई अस्वीकार गर्नुभएको छ । अफगानहरूले आफ्नो माटोको कुनैपनि भाग कुनैपनि देशलाई नदिने स्पष्ट पार्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बग्राम एयरबेस फिर्ता लिने र त्यहाँ अमेरिकी सेनालाई पुनः तैनाथ गर्ने प्रयास गरेको रिपोर्टको बीचमा आईतवार काबुलमा आयोजित पत्रकार सम्मेलनमा मुजाहिदले उक्त टिप्पणी गर्नुभएको हो । काबुलबाट ५० किलोमिटर उत्तरमा रहेको बग्राम एयरबेसले अफगानिस्तानमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाको २० वर्षको उपस्थितिको समयमा मुख्य अमेरिकी सेनाको अड्डाका रूपमा काम गरेको थियो । जुन अगस्ट २०२१ मा देशबाट विदेशी सेना फिर्ता भएपछि समाप्त भयो ।
११. लिबियाको त्रिपोलीमा घोडा दौड प्रतियोगिता सम्पन्न
लिबियाको राजधानी त्रिपोलीमा दुई दिने घोडा दौड कार्यक्रम सम्पन्न भएको छ । लगभग २ सय २० घोडाहरूले दौडमा भाग लिएका थिए । राष्ट्रिय एकता सरकारद्वारा आयोजित प्रतियोगिताहरूले सयौं प्रतिष्पर्धीहरू र दर्शकहरूलाई राष्ट्रको घोडचढी सम्पदा मनाउन आकर्षित गरेका छन् । आयोजककाअनुसार यो कार्यक्रम अरब घोडा दौड संस्कृतिलाई प्रवद्र्धन गर्ने, स्थानीय खेलकुद गतिविधिहरूलाई समर्थन गर्ने र जनताको मनोरञ्जनात्मक जीवनलाई समृद्ध बनाउने उद्देश्यले गरिएको थियो ।
१२. लिबियाको राजधानीमा पर्यावरणमैत्री क्याफे खुल्यो
लिबियाको राजधानी त्रिपोलीमा हालै खोलिएको लामा क्याफेले स्थानीय बासिन्दाहरूलाई यसको वातावरणमैत्री दृष्टिकोणतर्फ आकर्षित गरिरहेको छ । क्याफे धेरै युवा लिबियाली वास्तुकारहरू बीचको सहकार्यको परिणाम हो । लामाको भित्री सजावट फलाम, काठ र कार टायर रबर जस्ता पुनर्नवीनीकरण गरिएका सामग्रीहरूबाट बनेको छ । क्याफेमा बालबालिकाको खेल मैदान पनि छ ।जुन पुनर्नवीनीकरण गरिएका सामग्रीहरूबाट बनाइएको छ । यहाँ बालबालिकाहरुले वातावरण संरक्षणको लागि प्रशंसा प्राप्त गर्दै खेल्न सक्छन् । क्याफेले प्रयोग गरिएको पुस्तक विक्री र फोहोर छुट्याउने जागरूकता अभियानहरू जस्ता वातावरणीय कार्यक्रमहरू आयोजना गर्न अन्य संस्थाहरूसँग पनि सहकार्य गर्दछ । लिबिया अस्थिर रहे पनि लामाले स्थानीयहरूलाई आराम र आराम गर्न ठाउँ प्रदान गरेको छ ।
१३. नेपाल सुन्दर छ तर जोखिमपूर्ण छः गृहमन्त्री
गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । २०७२ सालको भूकम्प र त्यसपछिको बाढीपहिरोले विपद् पूर्वतयारी र जोखिम न्युनिकरणको महत्व वोध गराएको उहाँले बताउनु भयो । भौगोलिक रुपमा नेपाल सुन्दर भएपनि जोखिमपूर्ण रहेको उहाँको भनाई छ । नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खा लगायतका प्राकृतिक तथा मानवसिर्जित विपद्हरुको उच्च जोखिम रहेको उहाँले बताउनु भयो । विपद्लाई प्राकृतिक मात्र नभई सामाजिक संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । संविधान, राष्ट्रिय नीति तथा कानूनहरुले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनसम्बन्धी कार्यहरु सबैको समन्वय, सहकार्य र सहभागितामा सम्पादन हुने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । केन्ददेखि स्थानीय तहसम्म विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा विभिन्न संयन्त्रहरु क्रियाशिल रहेको उहाँको भनाई छ । उहाँले बाढी तथा डुवानजस्ता जोखिमहरुको पूर्व जानकारीका लागि अर्ली वार्निङ सिस्टमको विस्तार गरिएको पनि जानकारी दिनुभयो ।
१४. भूमि समस्या समाधान आयोगको पुनःस्थापना गर्न मागः मंगलवारबाट आन्दोलन
किसान र श्रमिक संगठनहरुले सरकारले हालै खारेज गरेको भूमि समस्या समाधान आयोगको पुनःस्थापना गर्न माग गरेका छन् । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ र भूमी अधिकार तथा श्रमिक संगठनले उक्त माग राखेका हुन् । सरकारले गत असोज २३ गते पूर्ववर्ति सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग खारेज गरेको थियो । दुवै संगठनले सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सरकार आयोग खारेज गरेर भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोवासी, श्रमजीवि गरिब जनताको हक अधिकार कुण्ठित गर्न उद्यत भएको आरोप लगाएका छन् । मानव अधिकार प्रतिकुल हुनेगरी सरकारले गरेको गैरजिम्मेवारपूर्ण निर्णयको भत्सर्ना गर्दै दुई संगठनले आयोगको पुनःस्थापनाको माग गरेका छन् ।
१५. सम्मानजनक तलव र जोखिम भत्ताको माग गर्दै मणिपाल अस्पतालका नर्सहरु आन्दोलित
पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरू सम्मानजनक तलव सुविधाको माग राख्दै आन्दोलित भएका छन् । सरकारी मापदण्डभन्दा कम तलबभत्ता,जोखिमभत्ता नपाएको तथा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । मणिपाल शिक्षण अस्पतालमा काम गर्ने नर्सहरुको तलव १५ देखि २० हजार रुपैयाँ मात्रै तलवभत्ता पाउने गरेका छन् । जुन सरकारी मापदण्ड (पाँचौँ तहको ३४ हजार ७ सय ३० रुपैयाँ) भन्दा निकै कम हो । अतिरिक्त समयको भत्ता र अन्य सुविधा समेत नपाएको उनीहरुको गुनासो छ । विगत दुई हप्तादेखि आन्दोलनरत नर्सहरु ‘हामी नर्स हौं, मेसिन होइनौँ, १५ हजारमा गुजारा चल्दैन’ लगायतका नारा लेखिएको प्लेबोर्डसहित आन्दोलरत छन् । मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्स पूजा फगामीले तलब र सुविधाको विषयमा पटक–पटक अस्पताल प्रशासनसँग माग रोखको भएपनि कुनै सुनुवाई नभएको गुनासो गर्नुभयो । बिरामीहरुको असुविधाको लागि माफी माग्दै उहाँले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने उहाँको अडान छ ।
१६. नेविसंघले भन्योः ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउ
नेपाली काँग्रेसमा आवद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निःवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष दुजाङ शेर्पाले जेन जी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले पनि लिनुपर्ने भएकाले उनीहरुमाथि अनुसन्धान गरी दोषी देखिएर कारबाही गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते नै धेरै मानवीय क्षति भएकाले आफूहरुले सोही दिन नै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा मागेको पनि स्पष्ट पार्नु भयो । सभापति शेर्पाले सो आन्दोलनको नेतृत्वकर्ताका रुपमा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह देखिएको उल्लेख गर्दै सिंहदरबार जलाउने लगायतका घटनाका विषयमा उनीमाथि पनि अनुसन्धानको काम तत्काल अघि बढाउन सरकारलाई दबाब दिनुभयो ।
१७. राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भित्र पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकारसम्म
अब पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरु समेत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भित्र पर्ने भएका छन् । हालैको मन्त्रिपरिषद् बैठकले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरेको हो । यसबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले राजपत्रमा जारी गरेको सूचनाअनुसार विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गतका आयोजनामा पाँचखाल विशेष आर्थिक क्षेत्र, काभ्रेपलाञ्चोक, हरैया विशेष आर्थिक क्षेत्र, कैलालीलाई पनि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरिएको छ ।
प्राथमिकता प्राप्त आयोजनाभित्र राखिएको पाँचखालमा ७ वर्षअघि निर्माण शुरु गरिएको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको कामले गति लिएको छैन । पाँचखाल नगरपालिका वडा नं ७ र ८ मा सेज स्थापना गरिएको थियो । सरकारले विसं २०६८ भदौ २७ को मन्त्रिपरिषद् बैठकले पाँचखालमा सेज स्थापना गर्ने निर्णय गरेको थियो । विसं २०७५ मा मात्रै औपचारिक रुपमा जग्गा प्राप्त गरी निर्माणको काम थालिएको थियो । तर कामको गति निकै सुस्त छ ।
राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भित्र राखिएको हरैया विशेष आर्थिक क्षेत्र निर्माण गर्ने घोषणा २०६५/६६ को बजेटबाट गरिएको थियो । अहिलेसम्म यो आयोजनाको समेत प्रगति राम्रो हुन सकेको छैन । -न्युज एजेन्सी नेपाल
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij