२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई हाइअल्टिच्युडका कारण बिरामी पर्ने समस्या देखिएसँगै त्यहाँको लोमान्थाङ गाउँपालिकाले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी सावधानी अपनाउन आग्रह गरेको हो ।
गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङद्वारा जारी सूचनामा उपल्लो मुस्ताङमा अत्यधिक चिसो बढ्दै गइरहेको र उच्च उचाइको क्षेत्रमा भ्रमण गर्ने पर्यटकमा लेक लाग्ने समस्या देखिएको उल्लेख छ । दसैँ-तिहार र छठ पर्वको बिदा अवधिमा यहाँ भ्रमण गर्न आउने पर्यटकले आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाएर मात्रै भ्रमण गरिदिन अनुरोध गरिएको छ ।
यस याममा नेपाल-चीन उत्तरी कोरलानाका र उपल्लो मुस्ताङ क्षेत्रको भ्रमण गर्न आएका पर्यटकलाई लेक लाग्ने समस्या देखिएको र समस्यामा परेका पर्यटकलाई सीमित स्रोतसाधनका बावजुत गाउँपालिकाको तर्फबाट स्वास्थ्य सेवा प्रवाह गरिएको सूचनामा उल्लेख छ ।
गाउँपालिकाले लेक लागेर सिकिस्त भएका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवामार्फत जोमसोमस्थित प्रदेश अस्पताल पुर्याउने गरिएको जनाएको छ । दसैँपछि उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक बढ्दो रहेकाले यहाँको हावापानी र भौगोलिक समस्याका कारण हुने स्वास्थ्य जटिलतालाई मध्यनजर गर्दे आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरिएको अध्यक्ष गुरुङले बताएका छन् ।
गाउँपालिकाले सूचनामार्फत उपल्लो मुस्ताङतर्फ जाने पर्यटकले यात्रा गर्दा स्वास्थ्य अवस्था सम्बन्धी बिचार गर्नुपर्ने, दीर्घ रोगका बिरामीले यात्रा गर्दा चिकित्सकको सल्लाह लिएर यात्रा गर्न, चिसोबाट बच्न लगाइने स्वास्थ्य सुरक्षा सामग्री व्यवस्था गर्न, खाली पेटमा यात्रा नगर्न, दैनिक चाररपाँच लिटर पानी पिउन र तरल पदार्थ सेवन गरेर मात्रै यात्रा गर्न तथा विभिन्न ठाउँमा विश्राम लिँदै यात्रा गर्न अनुरोध गरेको हो ।
नेपाल-चीन उत्तरी कोरलानाका अवलोकनका लागि दैनिक दुई हजारको सङ्ख्यामा पर्यटक आउने गरेको लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बिओपीले जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक विष्णुहरी थापाले कोरला नाकामा पुगेका पर्यटकलाई हाइअल्टिच्युडको समस्या हुने र सवारी साधन चिसोका कारण चल्न नसक्ने जस्ता समस्या देखिएको बताएका छन् । बिओपीले कोरलानाका भ्रमण गर्ने पर्यटकलाई बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij