२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ । शुक्रबारबाट मन्त्रालयको कार्यालय व्यवस्थापन प्रणालीबाट फाइल स्वीकृत गर्ने प्रक्रिया अर्थमन्त्री रामेश्वर खनालले शुभारम्भ गरेका हुन ।
सरकारी निकायबाट सम्पादन हुने कार्यहरूलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रूपमा सम्पादन गरी कागजरहित बनाउने योजनाअनुरूप उक्त प्रणाली सुरुवात गरेको अर्थमन्त्री खनालले बताएका छन् ।
सरकारको अवधारणालाई कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको प्रयोगलाई अर्थ मन्त्रालयमा समेत अनिवार्य गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
उक्त एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग गरी विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठी पत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका कार्य अनिवार्य रूपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरी सम्पादन गर्नुपर्ने गरी व्यवस्था गरिएको छ ।
यस प्रणाली कार्यान्वयनबाट निर्णय प्रक्रियामा शीघ्रता, खर्चमा मितव्ययिता, कार्य प्रक्रियामा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij