Logo

२०८२ भाद्र १४ गते शनिवार

२०८२ भाद्र १४ गते शनिवार

नेतृत्वको निर्विकल्प बनेको अभिब्यक्ति र यथार्थ

नेतृत्वको निर्विकल्प बनेको अभिब्यक्ति र यथार्थ


  • 932
    Shares

    नेतृत्वको निर्विकल्प बनेको अभिब्यक्ति र यथार्थ
    images
    ‘देशको राजनीतिको खाँबो आफूले छाडे गल्र्यामगुर्लुम भत्किहाल्छ की जस्तो लाग्ने गरेको, हुनत म अहिले सरकारको नेतृत्वमा छैन,प्रमुख प्रतिपक्षी दलको नेता छु, तर यस्तो लाग्छ देशको राजनीति पुरै मेरै काँधमै भए जस्तो’  लागेको छ । – पुष्पकमल दाहाल
     
    ‘चुरो कुरो नढाँटीकन भन्दा माओवादी लाई जनताले विश्वास गरेनन् भने देश दुर्घटनामा पर्छ’ भन्ने मलाई लाग्छ, बच्दै बच्दैन । धेरै ठूलो अप्ठ्यारोमा जान्छ । – पुष्पकमल दाहाल
     
    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केहि दिन अगाडि दिएका अभिब्यक्तिले संचारमाध्ममा ठूलो स्थान पाए । तर , के कारण उनी आफूलाई बिकल्पबिहिन नेता ठानीरहेका छन् भन्ने कुरा आमनेपालीले ठम्याउन सकेका छैनन् ।  उनी २०६३ को परिवर्तन देखि अहिले सम्म सत्ताको केन्द्रमा छन, तर उनले देशको लागि के के गरे ? उनी कसरी बिकल्परहित नेता बने ? यस्ता आत्मकेन्द्रित अभिब्यक्तिले आम नेपालीलाई अचम्भीत बनाईरहेको छ ।
     
    यस्ता बिकल्पबिहिन ठान्ने मनोबिज्ञान केवल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संग मात्र भएको होइन । यहि प्रकारको बिकल्पहिन मनोबिज्ञान नेकपा एमालेका अध्यक्ष के.पि.ओली, नेपाली काँग्रेसका अध्यक्ष शेर बहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल लगायतका शिर्ष नेतृत्वमा रहदै आएको छ । जुन अहिलेको मुलुकको बिडम्वना जस्तै बनेको छ ।  देश अहिले संकटबाट गुज्रीरहेको छ । अझ भन्ने हो भने इतिहासकै गम्भीर मोडमा छ । 
     
    लामो समय देखि राजनीतिमा लागेको र जीवनमा धेरै त्याग गरेको दाबी गर्ने पार्टीका नेताहरु अहिले राजनीतिको केन्द्रमा छन् । स्वभाविक छ, उनीहरुले नेपालको राजनीतिक ब्यवस्था परिवर्तन गर्ने सिलसिलामा त्याग गरेका होलान । त्यसलाई नेपाली जनताले सम्मान गर्छन । गरेका थिए ।  तर, उनीहरु अहिले आफूलाई बिना संकोच  बिकल्परहित बताईरहेका छन् । के उनिहरुको बिकल्प नै छैन त ? बिकल्पविहिन कोही हुन सक्छ र ? यथार्थमा बिकल्पबिहिन अबस्था ठान्ने जनताले हो । तर, जनता यी नेताहरुका कृयाकलापले आजित भैसकेका छन् । 
     
    नेपाली जनताले नै प्रश्न गरिरहेका छन, उनीहरु सत्ताशिन भैसकेपछि देशलाई के के दिए ? उनिहरुको नीति र सिद्धान्त देशको लागि कति सार्थक र ब्यवहारिक बने ? उनिहरुले अबलम्वबन गरेका नीति , सिद्धान्त र उनीहरुले गरेका कार्यले जनताको जनजीविकामा कस्तो प्रभाव पा¥यो ? त्यो नै उनिहरुको मुल्याँकन गर्ने कसी हो । तर यी नेताहरु आफूलाई जनताको मुल्याँकनको कसीमा आफूलाई प्रस्तुत गर्न तयार देखिदैनन् । 
     
    जहाँसम्म आफूलाई बिकल्पविहिन भन्ने नेताहरुको बिषय छ, नेताहरुले अबलम्वन गरेका नीति र कार्यलाई जनताले मुक्तकण्ठले प्रसंसा गर्न सकेका छैनन् । बरु, उनिहरुले जबर्जस्ती लादेका संघीयता जस्ता बिषयले नेपाललाई ठूलो ऋणभारमा पारिसकेको छ । वर्तमान अबस्थाको नेपालको चित्रण कहाली लाग्दो छ । रोजगारीको अभावमा हरेक दिन नेपालबाट भईरहेको युवाहरुको पलायनले आमनेपालीहरुलाई चिन्तित तुल्याएको छ । युवाहरुको पलायनले देशका हरेक क्षेत्रमा केहि बर्ष पछि दक्ष जनशक्ति मात्र होइन, साधारण जनशक्ति समेत पाउन असम्भव हुने अबस्था सृजना हुन पुगेको छ ।
     
    जब कुनैपनि राज्य युवा बिहिन बन्दछ त्यो राष्ट्र बुढो र जर्जर बन्न पुग्दछ । युवा शक्तिको अभावमा न त मुलुकले कुनै उद्योगको बिकास गर्न सक्छ न त कृषिमा कुनै नविन क्रान्ति ल्याउन सक्दछ । न त नेपालको बिकासको संभावना बोकेको पर्यटन ब्यवशायले गति लिन सक्छ ।
     
    कुनै पनि राष्ट्रको बिकास गर्ने माध्यम त्यस देशको भौगोलिक अबस्थाले निर्धारण गर्ने बिषय हो । जहाँसम्म नेपालको बिषय छ, नेपाल संसारकै सबैभन्दा धेरै जनसंख्या भएका दुईवटा बिशाल छिमेकीहरु चीन र भारतको छिमेकी मुलुक हो । जसको कारण नेपालको बिकासको लागि यी दुई मुलुकहरुको बजारलाई दृष्टिगत गरेर उद्योगहरुको स्थापना गर्नु नै नेपालको तिब्र बिकासको बाटो हो । त्यसको लागि नेपालको कूटनीतिक क्षमता कति छ ? नेपालले कूटनैतिक क्षमता कति प्रदर्शन गर्न सक्छ भन्ने कुराले  उद्योगको स्थापना र बजारको ब्यवस्था निर्धारण गर्दछ । 
     
    तर, अहिले बाह्य परिस्थिति प्रतिकूल हुँदै नेपालको कूटनीति असफल जस्तै देखिएको छ । चरम भ्रष्टाचारले हरेक क्षेत्र ग्रस्त छन् । राजनीतिक पार्टीका नेताहरुको स्वार्थको द्वन्द्वले  राष्ट्रको छवि नै धमिलिएको छ । भीडको राजनीति हावी हुँदा नियम कानून गौण बनेका छन । शक्ति सन्तुलन खलबलिएको छ । भीडको राजनीतिको प्रभावस्वरुप न्यायपालिकाको साखमा समेत ह्रास आउन थालेको छ । न्यायलयको न्याय निरुपणमा समेत प्रश्न उठ्न थालेका छन् । जसका कारण पनि औद्योगिक क्रान्ति र छिमेकी राष्ट्रको बजारलाई राष्ट्र निर्माणको आधार बनाउदै संयुक्त लगानीका उद्योगहरुको स्थापना गर्न उनिहरु आश्वस्त हुन सक्ने अबस्था छैन् ।  उनिहरुको लगानीको सुरक्षामा विश्वासको संकट उत्पन्न हुन थालेको छ । के यो कूटनीतिक बिफलता होइन र ?
     
    त्यसैगरी नेपाललाई आत्मनिर्भर बनाउने अर्काे बाटो भनेको कृषि पेशा हो । बिगतमा परम्परागतरुपमा कृषि पेशा अबलम्वन गर्दा बहुसंख्यक मानिसहरु कृषिमा आश्रीत थिए ।  एक समयमा ९३ प्रतिशत मानिसहरु कृषिमा आश्रीत थिए । तर अहिले परिस्थिति बदलिएको छ । कृषिमा आश्रीत हुनेको संख्या घटेको छ । तर, कृषि पेशाको औत्यिता अहिलेपनि सकिएको छैन् । अहिले  नेपालको भूमिका बदलिएको छ । धान चामल निर्यात गर्ने राष्ट्रबाट आयात गर्ने राष्ट्र बन्न पुगेको छ । 
     
    नेपालले चामल निर्यातको सट्टा  करिव पचास अर्ब भन्दा माथिको चामल आयात गर्न थालेको छ । हरियो तरकारी र मासुजन्य चिजहरु समेत आयात गर्नु पर्ने अबस्था छ । मासुजन्य चिज र हरियो तरकारी नेपालले  अहिलेपनि अर्बाैको आयात गर्छ । नेपालमा नविन प्रविधि सहितको कृषि क्रान्ति अहिलेको प्रमुख आवश्यकता बनेको छ ।  तर सत्ता सञ्चालकहरु नेपाललाई आर्थिकरुपमा समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा भन्दा भाषणबाजीमा रमाईरहेका छन् । हरेक बर्षको मुलुकको बजेट साठी देखि सत्तरी प्रतिशत साधारण खर्चमा अर्थात अनावश्यकरुपमा थोपरिएका संघात्मक राज्यका प्रशासनिक संरचनामा खर्च हुने गरेको छ । के बिकल्पबिहिन ठान्ने नेतृत्वको नीतिले नेपालको कृषि पेशालाई पुर्नजीवित गर्न खोजेको छ ?  बिल्कुलै छैन । नेपालका कृषि योग्य जमिनहरु नेपालभरी बाँझो रहेका छन् । बिकास खर्चको अभावमा नेपालको बिकासले गति लिने अबस्था देखिएको छैन । तर नेतृत्व स्वीकार गर्ने पक्षमा छैन् । उनीहरु आफ्ना गल्तीलाई पुर्नसमिक्षा गर्न समेत तयार छैनन् ।
     
    नेपाल संसारकै सुन्दरतम मुलुक मध्यको एक हो । नेपाल संसारभरका प्रकृति प्रेमीहरुको लागि पर्यटकीय गन्तब्यस्थल हो । नेपालले पर्यटन क्षेत्रलाई उन्नत  बनाउन बर्षेनी धेरै भन्दा धेरै पूर्वाधार निर्माणमा ध्यान दिनु आवश्यक छ ।  यस्ता धेरै आयआर्जनका बाटाहरु नेपाल संग हुँदा हुँदैपनि नेपालबाट रोजगारीको लागि युवाहरुको पलायन यति डरलाग्दोरुपमा किन भैरहेको छ ?
     
    किन बिकल्पबिहिन  ठान्ने नेताहरुको नीतिले नेपालमा रोजगारी सृजना गर्न सकेको छैन ? उनिहरुको नीति र उद्देश्य युवाहरुलाई नेपालमा जसरी पनि रोक्ने हुनुपर्दथ्यो ।  रोजगारीका नयाँ ÷नयाँ क्षेत्रहरुको खोजी गर्ने हुनुपर्दथ्यो । तर, यथार्थ त्यस्तो छैन । युवाहरुलाई मुलुकबाहिर जान अघोषितरुपमा प्रेरित गरेको जस्तो देखिएको छ । बाहिर बाट पठाएको रेमिटेन्सले मुलुक जसै तसै सञ्चालित छ । जुन कुराको प्रमाण उनिहरुका बिकल्पबिहिन अभिब्यक्तिले स्पष्ट पारिरहेका छन् ।्
     
    यदि उनिहरु राष्ट्र प्रति जिम्मेवार भैदिएको भए उनिहरुले एउटा राजनीतिक पद्धतिको स्थापना गरिसकेपछि युवाहरुलाई राजनीतिमा धेरै भन्दा धेरै सहभागी गराउने नीति ल्याउनु पर्दथ्यो । युवाहरुलाई राज्यको नीति निर्माण तहमा पु¥याउने पहल गरिसकेको हुनुपर्दथ्यो । तर,उनिहरु अझै आफ्ना कमि कमजोरीहरु खोजी गर्ने र गल्ती सच्याउने भन्दा आफू बाचुञ्जेल सत्तामा बस्ने अभिप्रायले अभिब्यक्ति दिइरहेका छन् ।
     
    उनिहरु यति अभिमानी र दम्भी भैसकेका छन की उनिहरु आफ्ना गल्ती कसैले औल्याइदिएको सुन्न नै चाहदैनन् । बरु, स्वस्थ आलोचना गर्नेलाई नै समाप्त पार्न उद्यत देखिने गरेका छन् । त्यसैको परिणाम हो ‘म भइन भने यो मुलुक रहदैन’ । ‘मैले छोडिदिएँ भने यो देश गल्र्यामगुर्लुम ढल्छ’ जस्ता भद्दा अभिब्यक्ति ।  बिकल्पहिन बन्ने नेतृत्वको घोषणाले होइन, उनीहरुका नीति र असल कार्यले हो । तर, उनिहरुले सोचिरहेका छैनन की उनिहरुका गलत नीति र कथित सिद्धान्तले राष्ट्र कति पछि धकेलिइसकेको छ ।  
     
    जहाँ सम्म युवा शक्तिको कुरा छ, एक्काइसौ शताब्दीको सबैभन्दा ठूलो शक्ति भनेको युवा जनशक्ति हो । जुन शक्तिको अभावमा राज्यले कुनैपनि क्षेत्रमा बिकास गर्न सक्दैन् । चाहे त्यो क्षेत्र कृषि होस वा उद्योग होस , स्वास्थ्य र शिक्षाको क्षेत्र होस वा अन्य क्षेत्रहरु । 
     
    युवाको अभावमा कुनैपनि क्षेत्रले गति लिन सक्दैन् । अहिले मुलुकमा युवाको अभाव शुरु भैसकको छ ।  युवाहरुको बिदेश पलायन÷बैदेशिक रोजगारीमा जानाले शिशु जन्मदरको कमिले  संकटको संकेत गरिसकेको छ । करिव तीन करोड जनसंख्या भएको नेपालमा १ करोड भन्दा बढी मानिसहरु मुलुकबाहिर छन् ।  तीन प्रतिशत भन्दा बढी  शिशु जन्मदर नरहेको अबस्था छ ।  नेपालमा  दैनिक जन्मने शिशुहरु राष्ट्रभरीमा १ हजारको हाराहारीमा पनि नहुनुले भविष्यको लागि मुलुकको अस्तित्व संकटमा पर्नु हो । के यस्ता बिषयमा गम्भीररुपमा घोत्लिने बेला भएन र !  
     

     

    प्रकाशित मिति :भाद्र १४ २०८२ शनिवार - ०९:४१:५४ बजे
    प्रतिक्रिया

    कृष्ण सेढाई

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij