Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिंहदरबार वैद्यखानासँग २ करोड २० लाखको औषधि किन्ने सम्झौता

सिंहदरबार वैद्यखानासँग २ करोड २० लाखको औषधि किन्ने सम्झौता


  • 288
    Shares

    सिंहदरबार वैद्यखानासँग २ करोड २० लाखको औषधि किन्ने सम्झौता

    काठमाडौं । प्रदेशको स्वास्थ्य सेवा प्रणालीमा आयुर्वेदलाई बलियो बनाउने उद्देश्यका साथ कोशी प्रदेश सरकारले सिंहदरबार वैद्यखाना विकास समितिसँग औषधि खरिदका लागि सम्झौता गरेको छ ।

    प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालको सबैभन्दा पुरानो र एकमात्र सरकारी औषधि उत्पादक सिंहदरबार वैद्यखाना विकास समितिसँग २ करोड २० लाख रुपैयाँ बराबरको औषधि खरिद गर्ने सम्झौता गरेको हो ।

    यो सम्झौतासँगै सिंहदरबार वैद्यखानासँग सरकारी–सरकारी (जीटुजी) मोडलमा सिधै औषधि खरिद गर्ने कोशी देशको पहिलो प्रदेश बनेको छ ।

    सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मन्त्रालयको तर्फबाट स्वास्थ्य सचिव डा. राधिका थपलिया र सिंहदरबार वैद्यखाना विकास समितिको तर्फबाट कार्यकारी निर्देशक डा. प्रदीप केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे । यस सम्झौताले प्रदेशभित्रका नागरिकलाई गुणस्तरीय र भरपर्दो आयुर्वेदिक औषधि सहज रूपमा उपलब्ध गराउने मार्ग प्रशस्त गरेको छ ।

    चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको २ करोड २० लाख रुपैयाँ बजेटबाट मन्त्रालयले वैद्यखानाद्वारा उत्पादित २३ प्रकारका अत्यावश्यक आयुर्वेदिक औषधि खरिद गर्नेछ । यो बजेट तीन मुख्य स्रोतबाट जुटाइएको हो, जसमा आपूर्ति व्यवस्थापन केन्द्र कोशीका लागि ६३ लाख, जिल्ला आयुर्वेद अस्पतालहरूका लागि ६७ लाख र संघीय सरकारबाट प्राप्त अनुदानको ९० लाख रुपैयाँ समावेश छ ।

    यो खरिद प्रक्रिया पारदर्शी र प्रभावकारी मानिने ‘जीटुजी’ (सरकारदेखि सरकार खरिद प्रक्रिया) मार्फत हुनेछ । यसले सार्वजनिक खरिदमा देखिने झन्झटिलो र ढिलासुस्तीको प्रक्रियालाई छल्दै छिटो र सुलभ रूपमा औषधि आपूर्ति सुनिश्चित गर्ने मन्त्रालयको दाबी छ ।

    कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले प्रदेश सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको र सुशासन कायम गर्दै गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । ‘हामीले जनतालाई वितरण गर्ने औषधि गुणस्तरीय हुनैपर्छ । सिंहदरबार वैद्यखाना नेपालको गौरव हो र यसको आफ्नै ऐतिहासिक विरासत छ,’ मन्त्री राईले भने, ‘त्यसैले हामीले टेन्डर प्रक्रियाको झन्झटमा नपरी सिधै वैद्यखानासँग सम्झौता गरेका हौँ । यसले पारदर्शिता सुनिश्चित गर्छ र जनताले उत्कृष्ट औषधि पाउँछन् ।’

    उनले यो सम्झौता कोशी प्रदेशको आयुर्वेद स्वास्थ्य क्षेत्रका लागि कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे । कोशी प्रदेश स्वास्थ्य मन्त्रालय र सिंहदरबार वैद्यखानाबिचको यो सम्झौताले प्रदेशमा आयुर्वेदिक स्वास्थ्य सेवालाई सुदृढ गर्न, नागरिकलाई गुणस्तरीय औषधि निःशुल्क उपलब्ध गराउन र सरकारी निकायहरूबिचको सहकार्यलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

    मन्त्रालयकी सचिव डा. राधिका थपलियाले सिंहदरबार वैद्यखानाको लामो र गौरवपूर्ण इतिहास रहेको बताउँदै यसका उत्पादनहरू गुणस्तरीय र विश्वसनीय भएकोले नै सहकार्यका लागि रोजिएको स्पष्ट पारिन् । इतिहास बोकेको संस्थाबाट गुणस्तरीय औषधी खरिद गर्ने उनले बताइन् ।

    सचिव थपलियाका अनुसार, प्रदेश स्वास्थ्य मन्त्रालय मातहत रहेका १५ वटा अस्पताल र आपूर्ति व्यवस्थापन केन्द्र गरी कुल १६ निकायले औषधि खरिद गर्नेछन् । ती निकायले आफ्नो आवश्यकता र बजेटको आधारमा औषधिको सूची तयार पारेर सोझै वैद्यखानाबाट खरिद गर्नेछन् । उनले भनिन््, ‘यस प्रक्रियाले समयमै औषधि आपूर्ति हुनेछ र म्याद सकिने समस्या पनि हट्नेछ ।’

    यस सम्झौताको सबैभन्दा उल्लेखनीय पक्ष भनेको खरिदमा प्राप्त हुने १८ प्रतिशत छुट हो । सचिव थपलियाले भनिन्, ‘सिंहदरबार वैद्यखानासँग सिधै खरिद गर्दा हामीले १८ प्रतिशत छुट पाउनेछौँ । यो प्रदेश सरकारका लागि ठुलो आर्थिक बचत हो ।’

    उनले छुटबाट बचत भएको रकमले थप औषधि खरिद गरी नागरिकलाई अझ बढी सेवा दिइने जानकारी दिइन् । यसले सीमित बजेटमा पनि धेरै नागरिकसम्म आयुर्वेदिक सेवा पुर्‍याउन मद्दत पुग्ने उनको तर्क छ ।

    विगतमा दुई पटक औषधि खरिद हुने गरेको थियो, एक पटक आपूर्ति केन्द्रले र त्यसपछि जिल्लाहरूले खरिद गर्थे । अब भने यो प्रक्रिया एकीकृत र सरल बनेको छ, जसले गर्दा खरिद प्रक्रिया छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीले यो सम्झौतालाई ऐतिहासिक भन्दै कोशी प्रदेशले अग्रगामी कदम चालेको बताए । ‘सात प्रदेशमध्ये सरकारीस्तरमा सिधै हामीसँग औषधि खरिद गर्ने कोशी पहिलो प्रदेश हो,’ डा. केसीले भने, ‘यो सहकार्यले वैद्यखानालाई मात्र नभई समग्र आयुर्वेद क्षेत्रलाई नै प्रोत्साहन मिलेको छ ।’

    उनले वैद्यखाना गुणस्तरीय औषधि उत्पादन गर्न पूर्ण सक्षम रहेको र हाल ५७ प्रकारका औषधि उत्पादन गरिरहेको जानकारी दिए । ‘हामीले आगामी दिनमा उत्पादन क्षमता बढाएर ९० प्रकारका औषधि बनाउने लक्ष्य राखेका छौँ,’ उनले भने, ‘कोशी प्रदेशको यो विश्वासले हामीलाई थप ऊर्जा दिएको छ । हामी गुणस्तरमा कुनै सम्झौता नगरी तोकिएको समयमा औषधि उपलब्ध गराउन प्रतिबद्ध छौँ ।’

    केही वर्ष यता व्यवस्थापकीय कमजोरी र सरकारी उदासीनताका कारण उत्पादनमा ह्रास आएको वैद्यखानाले अब भने पुनर्जीवन पाउने संकेत देखिएको छ । कोशी प्रदेशसँगको यो सम्झौताले वैद्यखानाको बजार विस्तार र आर्थिक स्थायित्वमा समेत टेवा पुग्ने देखिन्छ ।

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - १५:१४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij