Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

अलैँचीको मूल्य सात वर्षयताकै उच्च

अलैँचीको मूल्य सात वर्षयताकै उच्च


  • 1.3K
    Shares

    • images
    अलैँचीको मूल्य सात वर्षयताकै उच्च

     काठमाडौं ।  ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुआती सिजनमा नै उच्च मूल्य पाएको छ ।

    अलैँचीको खरिद-बिक्री हुने नेपालकै ठूलो बजार बिर्तामोडमा सोमबार (भदौ २) प्रतिमन (४० केजी) ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासंघका कार्यकारी निर्देशक अनिल ढुंगानाले बताएका छन्।

    “यो निकै राम्रो भाउ हो,” उनले भने, “गत वर्ष अहिलेकै सिजनमा अलैँचीको कारोबार प्रतिमन ४० हजार रुपैयाँसम्ममा भएको थियो ।” अलैँचीको यो भाउ विगत सात वर्षयताकै उच्च मानिएको छ ।

    ०७५ सालको यो सिजनमा अलैँचीको प्रतिमन मूल्य एक लाख पाँच हजार रुपैयाँ थियो । सोही सालको मंसिरमा मूल्य अझ बढेर प्रतिमन एक लाख सात हजार रुपैयाँ पुगेको थियो ।

    ०६७ सालमा अलैँची प्रतिमन एक लाख २० हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । त्यसभन्दा बढी मूल्यमा अलैँचीको कारोबार कहिल्यै भएको छैन । भदौ-असोजतिर भाउ धेरै हुनु भनेको मंसिर–पुसमा अझै बढ्ने संकेत भएको उनको भनाइ छ ।

    हाल बढेको भाउले अलैँची उत्पादन गर्दै आएका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । किसानले बेच्ने बेलामा अलैँचीको भाउ उच्च हुँदा उनीहरू उत्साही भएका हुन् । किसानबाट यति बेला किनेको अलैँची भण्डारण गरेर व्यापारीले मंसिर-पुसतिर भाउ आकाशिएपछि बेचेर धेरै मुनाफा कमाउने गरेका छन् ।

    “एक मन अलैँची उत्पादन गर्न किसानले अधिकतम २० हजार रुपैयाँसम्म लगानी गरेका हुन्छन्,” महासंघका कार्यकारी निर्देशक ढुंगानाले भने, “आफूले बेच्ने बेलामा भाउ धेरै पाएर किसान धेरै खुसी भएका छन् । यसपालि अलैँचीको भाउ अझै धेरै बढेर जाने सम्भावना देखिन्छ ।”

    नेपालका ४२ जिल्लामा अलैँची खेती गर्ने गरिएको छ । तर, कोसी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, खोटाङ, भोजपुर र तेह्रथुममा यो धेरै उत्पादन हुने गरेको छ ।

    कोसी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । आर्थिक वर्ष २०८१\८२ मा काँकडभिट्टा नाका भएर सात अर्ब ६७ करोड रुपैयाँको अलैँची भारत निर्यात गरिएको मेची भन्सार कार्यालयले जनाएको छ ।

    नेपालमा उत्पादित ९० प्रतिशत अलैँची निर्यात गर्ने गरिएको छ । नेपालबाट अलैँची भारत पुर्‍याइन्छ । त्यहाँबाट अलैँची ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुर्‍याइने गरेको छ । विश्व बजारमा नेपाली अलैँचीको सोझो पहुँच छैन ।

    प्रकाशित मिति :भाद्र २ २०८२ सोमवार - १३:१६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij