२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) लाई अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालले चक्रेलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेका हुन् ।
गुन्डागर्दी गरेको आरोपमा साउन १५ मा साम्बाला होटलबाट चक्रे समूहका १९ जना पक्राउ परेका थिए । उनीहरुविरुद्ध सरकारी वकिलले अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि अदालतले सबैलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
अदालतले गणेशबहादुर बोगटीलाई २० हजार, नीराजन पौडेललाई १० हजार, रोशन सुवेदीलाई १० हजार, राजेश खड्का ‘रोजेश’ लाई ३० हजार,राहुल खड्कासँग १० हजार, यामु पौडेलसँग १० हजार, सौरभ सुनारलाई १० हजार, डिल्लीराज कँडेललाई २० हजार, ऋतिक लामालाई २० हजार र र सन्दीप केसीलाई १० हजारमा रिहा गर्न आदेश गरेको छ ।
अन्य कसुरदारहरु चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई जनही १० हजार धरौटी माग गरिएको छ । सरकारी वकिलले अभद्र व्यवहार सम्बन्धी कसुरमा १ वर्ष कैद र १० हजार जरिवाना सजाय गर्न मागदावी लिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij