२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । कार्यकाल सकिन लागेको प्रहरी नेतृत्वले अवधि पुग्न केही समय बाँकी रहेका अधिकृतको सरुवा तयारी गरेपछि गृह मन्त्रालयले रोकेको छ ।
गत वर्ष भदौ १९ मा सरुवा भएका इन्स्पेक्टर र त्यसपछिको सरुवामा विभिन्न जिल्लाको इञ्चार्ज रहेका डीएसपीको सरुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारीलाई मन्त्रालयले रोक्न निर्देशन दिएको हो । प्रहरी सेवा नियमावलीले समान्यतया एक वर्ष अवधि नपुगी सरुवा गर्न नमिल्ने व्यवस्था गरेको छ ।
तर, भदौ १८ गते प्रहरी सेवाबाट अवकास हुने केन्द्रीय प्रहरी नेतृत्वले भदौ १९ र त्यसपछि मात्रै एक वर्ष अवधि पुग्ने इन्स्पेक्टर र डीएसपी सरुवाको तयारी गरिरहेको थियो ।
आर्थिक प्रभावमा विभेदपूर्ण सरुवा हुन लागेको भन्दै डीएसपी र इन्स्पेक्टर टोलीले गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दवाडीसँग गुनासो गरेपछि मन्त्रालयले ‘अति जरुरीबाहेकका काम नगर्न’ प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।
मन्त्रालयको सोही निर्देशनपछि मंगलबार बढुवा भएका एसएसपी, एसपी र डीएसपीको पदस्थापन र केही दरबन्दी मिलान हुन बाँकी एसपी र डीएसपीको सरुवा प्रकाशित गरेको थियो । उक्त सरुवा लगत्तै इञ्चार्जको जिम्मेवारीमा रहेका डीएसपी र इन्स्पेक्टरको ठूलो संख्याको सरुवा गर्ने तयारी थियो ।
वर्तमान प्रहरी नेतृत्वको कार्यकाल सकिनुअघि संसदमा विचाराधीन रहेको प्रहरी विधेयक पारित हुने सम्भावना शून्यप्रायः छ । यदि उक्त विधेयक पारित भई ऐन जारी हुने भए ३० वर्षे सेवा अवधी हट्ने र जागिर अवधी लम्बिने सम्भावना थियो ।
अब त्यस्तो सम्भावना समाप्तप्रायः हुँदा छोटो कार्यकालमा बिदा हुन लागेको प्रहरी नेतृत्वले स्वार्थवस ठूलो संख्यामा सरुवा निकाल्दा आर्थिकलगायतका विसंगति आउनसक्ने गृह मन्त्रालयस्रोतले जनाएको छ ।
वर्तमान आईजीपी दीपक थापा चैत ४ गते ३१ औँ आईजीपी नियुक्त भएका थिए । विद्यमान प्रहरी ऐनअनुसार भदौ १८ मा आईजीपी थापा, एआईजी टेकबहादुर तामाङ, सुदीप गिरी ३० वर्षे सेवा अवधी पूरा गरी अवकाश हुँदैछन् । त्यसअघि उमेरहदका कारण एआईजी कृष्णहरि शर्मा भदौ १५ मै अवकाश हुँदैछन् ।
उनीहरु अवकास भएपछि ३२ औँ आईजीपीका रुपमा नियुक्त हुने सीआईबी प्रमुख एआईजी चन्द्रकुवेर खापुङ तीन महिना संगठनको नेतृत्व गरेपछि कात्तिक २६ मा अवकास हुन्छन् । अहिले विभागमा खापुङबाहेक ३२ औँ आईजीपीका दावेदार अरु छैनन् ।
अवकासपूर्व प्रहरी नेतृत्वले मनोमानीपूर्ण सरुवा र बढुवा गर्ने पुरानो प्रचलन दोहोरिने संकेत पाएपछि गृहले प्रहरी प्रधान कार्यालयलाई सचेत गराएको मन्त्रालयस्रोतले जनाएको छ । यद्यपि, आईजीपी थापाले इन्स्पेक्टर दर्जामा कार्यरत आफ्ना भाइ रमेश थापालाई गत जेठमै प्रहरी प्रभाग साँखुको इञ्चार्ज बनाइसकेका छन् । वरिष्ठ सई रहेकी बहिनी, ज्वाइँसहित परिवारका सबै सदस्यलाई आकर्षक जिम्मेवारी दिइसकेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij