२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले तीन तरिकाबाट शिक्षकहरूको बढुवा गर्ने प्रस्ताव गरेको छ । मन्त्रालयका सचिव चुडामणी पौडेलले बिहीबारको शिक्षा समिति बैठकमा शिक्षकहरू आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कनबाट बढुवा गर्ने प्रस्ताव गरेका हुन् ।
सचिव पौडेलले तृतीय श्रेणीका शिक्षक शतप्रतिशत खुला प्रतियोगिताबाट बढुवा गर्ने, द्धितीय श्रेणीका शिक्षक आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत, आवधिक वा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ४० प्रतिशत र कार्यक्षमताको मूल्याङ्कनबाट ४० प्रतिशत बढुवा हुने प्रस्ताव गरे ।
प्रथम श्रेणीमा आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत, आवधिक वा जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ४५ प्रतिशत र कार्यक्षमताको मूल्याङ्कनबाट ४५ प्रतिशत शिक्षक बढुवा हुने प्रस्ताव गरेका छन् ।
माध्यमिक तहको तृतीय श्रेणीमा खुला प्रतियोगिताबाट ८० प्रतिशत र आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत बढुवा गर्ने प्रस्ताव पनि मन्त्रालयले गरेको छ ।
त्यस्तै सो तहको द्धितीय श्रेणीमा आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत, आवधिक वा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ४० प्रतिशत र कार्यक्षमताको मूल्याङ्कनबाट ४० प्रतिशत बढुवा गर्ने प्रस्ताव मन्त्रालयको छ ।
त्यस्तै माध्यमिक तहको प्रथम श्रेणीमा आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत, आवधिक वा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ४५ प्रतिशत र कार्यक्षमताको मूल्याङ्कनबाट ४५ प्रतिशत शिक्षक बढुवा गर्ने प्रस्ताव मन्त्रालयले गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij