२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षामा १६ हजार १ सय ३७ जना विद्यार्थी छनोट गरेको छ । देशभरका ७७ जिल्लाबाट प्राप्त कुल १७,२२९ आवेदनमध्येबाट यी विद्यार्थीहरू छनोट भएका हुन् ।
पहिचान खुल्ने नागरिकता वा जन्म दर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए सो को प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको छात्रवृत्तिमा पढेको, अथवा काठमाडौँ महानगरपालिकामा स्थायी बसोबास भएको प्रमाण संलग्न नभएका १०९२ आवेदन अस्वीकृत भएका हुन्।
शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीहरूमा विज्ञान संकायका लागि ११,५९०, व्यवस्थापन संकायका लागि ४,१६४, मानविकी संकायका लागि ३२, शिक्षा संकायका लागि ९५ र कानुन संकायका लागि २५६ जना समावेश छन् । छनोट भएका विद्यार्थीहरूलाई इमेल र फोनमार्फत सूचना पठाइसकिएको कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij