२०८३ बैशाख १३ गते आइतवार
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व सोमबार देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । उभौली पर्वमा किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । यसै अवसरमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा पूजा आराधना गरिएको छ ।
मङसिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस यस दिनदेखि उँभो लाग्ने परम्परा रहेको किरात माङहिम व्यवस्थापन समितिका कोषाध्यक्ष मोहन सुनुवारले बताए।
यस समुदायले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किराँत राई समुदायको महत्त्वपूर्ण पर्व हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij