२०८२ भाद्र २० गते शुक्रवार
काठमाडौं । भारतका दुई ठूला वामपन्थी पार्टी भाकपा मार्क्सवादी र भाकपाले पाकिस्तानसँगको युद्ध चलिरहेका बेला भारतीय टिभी च्यानलले फेक भिडिओबाट आतंक फैलाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
भाकपाका महासचिव डी। राजाले केन्द्रीय सन्चारमन्त्री अश्विनी बैष्णवलाई पत्र लेखेरै फेक न्युजबाट साम्पद्रायिक विद्धेष फैलाउने टिभी च्यानलहरुलाई कारवाही गर्नुको साटो सत्य तथ्य लेख्न द वायर जस्ता मिडियामाथि प्रतिबन्ध लगाइएको भन्दै आपत्ति जनाएका छन् ।
त्यस्तै मार्क्सवादी कम्युनिस्ट पार्टीका महासचिव एमए बेबीले भारत सरकार तथा सेनाबाट प्रमाणित नभएको र फेक भिडिओ देखाएर पाकिस्तानलाई प्रोभोक गर्ने च्यानलहरुमाथि कारवाही नगरी द वायरलगायत स्वतन्त्र मिडियालाई नियन्त्रण गर्न खोजिएको बताएका छन् ।
भारत सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई देशको सबैभन्दा बढी पाठक भएको मानिने स्वतन्त्र सन्चारमाध्यम द वायरलाई भारतमा हेर्न र पढ् नमिल्ने बनाउन निर्देशन दिएको छ । त्यसको विरोधमा भारतका कम्युनिस्टहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
केन्द्रीय संसदका १५ सीटसहित केरलमा प्रादेशिक सरकार चलाइरहेका कम्युनिस्ट पार्टीको आवाज भारतमा सानो मानिए पनि द हिन्दू,द वायरजस्ता मिडियाहरुमा वाम पकड भएको मानिन्छ ।
भारतीय न्युज च्यानलका फेक न्युज रोक्नुको साटो सरकार स्वतन्त्र मिडियाविरुद्ध उत्रिएको भन्दै प्रशान्त भुषणजस्ता बरिष्ठ वकिल र पत्रकारहरुले पनि आलोचना गरेका छन् ।
भारतीय न्युज च्यानलहरु अहिले हेर्नै नसकिने खालका सामग्री प्रसारणको प्रतिस्पर्धामा रहदा एकातिर पत्रकारिताको खिल्ली उडेको र अर्कोतर्फ भारतले अन्यायपूर्ण युद्ध थोपरेको सन्देश अन्तर्राष्ट्रिय समुदायमा गइरहेको कम्युनिस्ट पार्टीहरुको दावी छ ।
आतंकवादविरुद्ध अप्रेसन सिन्दूरको पक्षमा सिंगो देश एकजुट भएका बेलामा टिभी च्यानलहरुले साम्प्रदायिक घृणा फैलाउने,उत्तेजना सिर्जना गर्ने र फेक सूचना दिने गतिविधि गरिरहेको उनीहरुले बताएका छन् । सरकारले नियमित प्रेस मिटबाट यथार्थ जानकारी दिनुपर्ने उनीहरुको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij