२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य सुरेश आलेमगरले राजतन्त्र फर्काएर के गर्न खोजेको भन्दै राजतन्त्र पक्षधरहरूलाई प्रश्न गरेका छन् ।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद आलेमगरले राजतन्त्र फर्काउन खोज्नेहरुलाई प्रश्न गर्दै राजतन्त्र पक्षधर सल्बलाउन खोज्नु र यही बेला बेवि किङ र बलयगाडा चढेर गणतन्त्र पुगिँदैन भन्नेहरु सत्तामा रहनुलाई संयोगका रुपमा मात्र लिन नसकिने बताए ।
‘नेपालमा गणतन्त्र आएको १५,१६ वर्ष भयो । त्यो भन्दा अघि २४० वर्ष राजतन्त्र थियो, त्यसवेला देश झन् ओरालो लागेको थियो’, उनले भने, ‘त्यही राजतन्त्र ल्याएर हुन्छ के गर्न खोजेको के हो रु गणतन्त्रमा केही कमजोरी हुनसक्छन् तर गणतन्त्रको विकल्पमा राजतन्त्र हुनसक्दैन’, आलेमगरको भनाइ छ ।
उनले एकातिर राजतन्त्रका भूतहरू सलबलाउने र अर्कोतिर देशको राज्यसत्ताको बागडोर बेबी किङ र सेरोमोनियल राजतन्त्र त कहिले गणतन्त्रलाई बयलगाडाको संज्ञा दिनेहरुबाटै राजतन्त्रका भूत प्रोत्साहित भइरहेका त होइनन् भनेर प्रश्न गरे ।
‘केही प्रतिगामी तत्त्वहरू सलबलाइरहेका छन् । हामीले राजतन्त्रलाई आर्यघाटमा सेलाइसकेका थियौँ तर त्यसका भूतहरू फेरि बौरिएर आएर राजतन्त्रको कुरा गर्दै आएका छन्’, मगरको भनाइ छ । त्यस्तै उनले कुलमान घिसिङलाई कारबाही गर्ने र महिलालाई सचिव नबनाउने सरकारको कार्यशैलीको विरोध गरे ।
त्यस्तै एकीकृत समाजवादीका सांसद जयन्ती राईले ‘प्रतिगामी तत्त्व’ कुर्लिन थालेको भन्दै लोकतन्त्रमाथि धावा बोल्दा पनि सरकार चुप लागेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
‘प्रतिगामी तत्त्व ब्युँझिँदै छन् । संविधानको उल्लंघन गर्न खोज्दैछन् ।जनताले लडेर प्राप्ति गरेका अधिकार खोस्न चाहँदैछन् । संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन्’, राईको भनाइ छ ।
बैठकमा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले पनि राजाको वंश विनाश गरेकाहरूले नै नाटक मञ्चन गरिरहेको आरोप लगाए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij