Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मौसमसँग खिन्न भए स्थानीय जनता     

मौसमसँग खिन्न भए स्थानीय जनता     


  • 7.4K
    Shares

    कार्यक्रम तय गरिए पनि खराब मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पाँचथर र इलाम उत्रिन नसकेपछि उहाँको स्वागत गर्न व्यग्र प्रतीक्षामा रहेका स्थानीयवासी खिन्न भएका छन् । उनीहरूले भारतसंँगको सीमाक्षेत्रमा आफूहरूले पाएका दुःखबारे प्रधानमन्त्रीलाई अवगत गराउन चाहेका थिए । तीनतीन पटक प्रयास गर्दा पनि प्रधानमन्त्री चढ्नुभएको हेलिकोप्टर कार्यक्रमस्थल पुग्न सकेन ।     

    इलामको सन्दकपुर गाउँपालिका–५ का नुपु शेर्पा अतिथिको स्वागत, सत्कार तथा प्रधानमन्त्रीको आगमनलाई भव्य बनाउन एक सातादेखि तल्लीन हुनुहुन्थ्यो । शेर्पाजस्तै इलामका माइजोगमाई तथा सन्दकपुर गाउँपालिकाका सयौँ बासिन्दा प्रधानमन्त्रीलाई भेट्न सोमबार मध्याह्न १२ बजेदेखि सन्दकपुर–५ जौबारीमा प्रतीक्षा गरिरहेका थिए । प्रधानमन्त्रीको स्वागतका लागि इलामका अन्य भूभागसहित छिमेकी जिल्ला पाँचथर र झापाका बासिन्दासमेत जौबारी पुगे पनि मध्याह्न १२ बजेका लागि निर्धारित कार्यक्रमका प्रधानमन्त्री आउन सक्नुभएन ।    

    हुस्सु र चिसो सिरेटो सहँदै खुला चौरमा बसेका स्थानीयवासी प्रधानमन्त्रीलाई न्यानो स्वागत गर्न हातमा फूल, माला र खादा लिएर तम्तयार बसेका थिए । उनीहरु प्रधानमन्त्री स्वयंले सुनेका खण्डमा दुर्गम क्षेत्रका समस्या हल हुनेमा आशावादी देखिन्थे । आयोजकहरुले अपराह्न ३ बजे प्रधानमन्त्री मौसम प्रतिकूलताका कारण आउन नसक्नुभएको जानकारीे गराएका थिए ।     

    जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले जौबारी आउने प्रधानमन्त्रीको दृढ इच्छा रहेको तर हेलिकोप्टर अवतरण गराउन नसकिएको बारे स्थानीयवासीलाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्नुभएका प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले स्थानीयवासीलाई प्रधानमन्त्रीले आफूले चाहेर पनि आउन नसकेको सन्देश पठाउनुभएको सुनाउनुभयो । यही मङ्सिर ५ र ७ गतेका लागि तय भई स्थगन भएको प्रधानमन्त्रीको जौबारी भ्रमण सोमबारका लागि तय भएको थियो । मन्त्री कार्कीले कार्यक्रम सफल बनाउन नसकेकामा दुःख व्यक्त गर्दै चाँडै प्रधानमन्त्रीलाई लिएर आउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।     

    प्रधानमन्त्रीले हेलिकोप्टरबाटै भारतसँग सीमा जोडिएको इलामको सन्दकपुर क्षेत्रको अनुगमन गर्ने, जौबारीमा स्थापित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) निरीक्षण गर्ने, स्थानीयवासीका समस्या, गुनासा तथा सुझाव सुन्नेलगायत कार्यक्रम तय भएका थिए । यी कार्यक्रमपछि प्रधानमन्त्री ओली, कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, मुख्यमन्त्री शेरधन राईलगायतले मन्तव्य राख्ने कार्यक्रम तय गरिएको थियो ।     
    विशेषतः स्थानीयवासी प्रधानमन्त्रीलाई सीमा क्षेत्रमा भारतीय पक्षबाट पटकपटक पाउने गरेका दुःख सुनाउन चाहन्थे । भारतीय पक्षले सीमा अतिक्रमण र नेपालतर्फ पर्यटकीय संरचना निर्माणमा अवरोध गर्दै आएको स्थानीयवासीको भनाइ छ ।

    यस्तै सन्दकपुर, जौबारी, जौबारी–फाटक, थुम्केलगायत क्षेत्रको पर्यटकीय विकासमा लगानी गर्नुपर्ने, कृषि उपजको उचित मूल्य र बजार सुनिश्चितता गर्नुपर्ने, अन्य पूर्वाधार विकासका लागि बजेटको व्यवस्था गर्नुपर्ने जस्ता माग लिएर स्थानीयवासी आएका थिए । यहाँका विभिन्न निकाय तथा संस्थाले तयार पारेका माग सोमबार नै आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीमार्फत प्रधानमन्त्रीसमक्ष पठाइएको छ । रासस

     

    प्रकाशित मिति :मंसिर ९ २०७७ मंगलवार - १३:०६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij