२०८२ भाद्र १० गते मंगलवार
कृषि विकास बैंकले साट्नै पर्ने चेक ‘गुड फर पेमेन्ट’ नसाटेर ग्राहकलाई दुःख दिएको पाइएको छ । कृषि विकास बैंकको सप्तरीको बोदे बसाइन शाखा कार्यालयले ‘गुड फर पेमेन्ट’ चेक नसाटेर ग्राहकलाई फर्काएको पाइएको हो।
‘गुड फर पेमेन्ट’ चेक काटिसकेपछि अनिवार्य रुपमा चेक साटिनै पर्ने व्यवस्था छ । अन्य साधारण चेक जस्तो यो चेक बाउन्स गर्ने वा फर्काउने गर्न बैंकले पाउदैन। तर, कृषि विकास बैंकका उक्त शाखाका शामा प्रमुख राम बचन यादवले ‘गुड फर पेमेन्ट’ चेक समेत फर्कादिएका हुन्।
शाखा प्रमुख यादवले पनि आफूले ‘गुड फर पेमेन्ट’ चेक दिएको स्वीकार गरे । ‘गुड फर पेमेन्ट’ चेक फिर्ता गर्न नहुने र साट्नै पर्ने विषयमा आफू जानकार रहेको पनि उनले बताए। आफूबाट गल्ती भएको स्वीकार गर्दै उनले भने, ‘मबाट गल्ती भएको हो, केही दिनलाई रोकिदिनुस् सर, म केटाहरुलाई भनेको छु मिलाउछु।’
के हो ‘गुड फर पेमेन्ट’ चेक ?
खातामा ईस्यूड रकम भएको र चेकमा लेखिएको रकम भुक्तानी गर्न सुनिश्चितता प्रदान गर्न भुक्तानी योग्य छ भनि सम्बन्धित बैंकले प्रमाणित गरेको चेकलाई गुड फर पेमेन्ट चेक भनिन्छ ।
यस्तो चेक बनाउनका लागि खातावालाले आफ्नो खातामा चेकमा जति चाहिने हो त्यति रकम बराबरको चेक काट्दछ । यस्तो चेकलाई बैंकले केहि शुल्क लिएर चेक पेमेन्ट गर्नु अघि सम्बन्धित ग्राहकको खाताबाट काटिएको चेक बराबरको रकम फ्रिज गरी बैंकले गुड फर पेमेन्ट भनी छाप लगाएर चेक उपलब्ध गराउँदछ । यस्तो चेक लिई आउनेलाई बैंकले दिइएको मितिमा भुक्तानी गर्नुपर्दछ ।
अरु चेकमा जस्तो गुड फर पेमेन्ट चेकमा भुक्तानी नहुने डर हुँदैन । किनकि, बैंकले यस्तो चेक जाँच गर्ने क्रममा नै खातामा मौज्दात भए नभएको, हस्ताक्षर वा मिति मिले नमिलेको, अंक र अक्षरमा फरक परे नपरेको लगायतका विषयमा यकिन गरिसकेको हुन्छ । यसर्थ, गुड फर पेमेन्ट चेकलाई वित्तीय कारोबारमा नगदसरह मान्यता र विश्वास गरिन्छ ।
अन्य चेक सटही गर्ने प्रक्रियासरह यस्तो चेकलाई सटही गर्न सकिन्छ । ‘गुड फर पेमेन्ट’मा बैंकको आधिकारिक व्यक्तिले हस्ताक्षर गरेको हुुनुपर्छ । कृषि विकास बैंकको चेकमा पनि शाखा प्रमुख यादवले नै हस्ताक्षर गरेका छन् ।
‘गुड फर पेमेन्ट’ चेक दिएपछि साट्नै पर्छ । नेपाल राष्ट्र बैंकका निर्देशक नारायण पोखरेलका अनुसार यो बैंक ज्ञारेन्टी नै हो । ‘गुड फर पेमेन्ट’ चेक दिएपछि कसरी हुन्छ बैंकले नै जिम्बेवारी लिएर चेकको रकम दिनुपर्ने निर्देशक पोखरेलले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij