२०८२ भाद्र १० गते मंगलवार
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम (तरलता) सहज हुँदै गएको छ । संघ तथा प्रदेशको निर्वाचनका कारण आर्थिक गतिविधि बढ्दा बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुँदै गएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक ३० गते बुधबार एकैदिन बैंक तथा वित्तीय संस्था १६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको हो । कात्तिक २९ गते मंगलबारसम्म ५१ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । त्यसको भोलिपल्ट नै समग्र बैंकिङ सिस्टममा ५१ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप कायम भएको छ ।
वाणिज्य बैंकमा मात्र निक्षेप १३ अर्ब रुपैयाँ वृद्धि भएको छ । वाणिज्य बैंकहरूमा कात्तिक २९ गते ४५ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप थियो । कात्तिक ३० गते बुधबारसम्म निक्षेप बढेर ४५ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ ।
निक्षेप बढेसँगै वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घटेको छ । एक दिनमै सीडी रेसियो ०.२४ प्रतिशत विन्दुले घटेको छ । गत कात्तिक २९ गते सीडी रेसियो ८७.०९ प्रतिशत थियो भने कात्तिक ३० गते घटेर ८६.८५ प्रतिशत कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार एक दिनको अन्तरालमा बैंक तथा वित्तीय संस्थाबाट तीन अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । कात्तिक ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाबाट ४७ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij