२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई तीनदेखि पाँच वर्षसम्मको कैद सजाय हुने कानूनी व्यवस्था गर्न सुझाव दिएको छ ।
सोमबार विभाग प्रमुख खगराज अधिकारी नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई भेटी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशमा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो ।
यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गाली गलौज, अपमान तथा सामाजिक सञ्जालमा तथ्यहीन अफवाह फैलाउनेलाई पनि सजायको व्यवस्था हुनुपर्ने टोलीले सुझाव दिएको छ ।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका अधिकारी नेतृत्वको टोलीले स्वास्थ्य आपतकाल वा विपद् संकटग्रस्त क्षेत्र घोषणा भएको वा संक्रामक रोग निर्मूल वा रोकथाम आदेश जारी भएको अवस्थामा दोब्बर सजायको व्यवस्था गर्न पनि ध्यानाकर्षण गराएको छ ।
यसैगरी संक्रामक रोग ऐन सक्रिय भएको वा स्वास्थ्य आपतकाल जारी भएको अवस्थामा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको ज्यान गएमा कम्तिमा २५ लाख रुपैयाँको स्वास्थ्य बीमा गर्न सुझाव दिएको छ ।
जवाफमा मन्त्री त्रिपाठीले यसमा उठाइएका विषयमा ध्यानाकर्षण भएको र विधेयकको मस्यौदा कानून मन्त्रालयमा पठाइसकिएकाले सम्बन्धित मन्त्रालयको समेत ध्यानाकर्षण गराउन आग्रह गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij