भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ। मन्त्री यादवले साम्प्रदायिक दंगा भड्काउने अभिव्यक्ति दिएको भन्दै कांग्रेस नेता रञ्जित कर्णले मुलुकी अपराध संविधान ०७४ बमोजिम नेपाल प्रहरीमा जाहेरी दिएका हुन् ।
मन्त्री यादवले माघ ५ गते रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोर्याउने अभिव्यक्ति दिएकी थिइन् । सो अभिव्यक्तिले दुई समुदायबीच साम्प्रदायिक द्वन्द्व फैलाउन मद्दत पुगेको नेता कर्णको दाबी छ।
उनले जिल्ला प्रहरी कार्यालय रौतहटमा मुलुकी अपराध संहिता ०७४ को दफा ४९ (४) बमोजिमको अपराध भएको भन्दै दफा ५ (ग) बमोजिमको कैद र जरिवाना गर्न माग गर्दै विहीबार जाहेरी दिएका छन् ।
उनले विहीबारै सप्तरकिा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै मन्त्री यादवलाई पदबाट बर्खास्त गर्न माग गरेका छन् ।
मन्त्री यादवले भने यसअघि नै विज्ञप्तिमार्फत आफूले कोही व्यक्तिप्रति लक्षित गरेर त्यस्तो अभिव्यक्ति नदिएको र आफ्नो अभिव्यक्तिलाई लिएर भ्रम फैलाइएको दाबी गरेकी थिइन् ।