२०८२ मंसिर ८ गते सोमवार
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले आज सपथ लिने भएका छन्। राईलाई दिउँसो २ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम तय भएको छ।
मुख्यमन्त्रीको सपथ लिएसँगै राईले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्नुहुने बताइएको छ। मन्त्रीको टुंगो लागिनसके पनि गठबन्धनका सबै दलबाट १–१ जनाले मन्त्रीको सपथ लिने बताइएको छ।
नेपाली कांग्रेसबाट संसदीय दलका उपनेता हिमाल कार्कीलाई पठाउने लगभग टुंगो लागेको छ। यस्तै माओवादीबाट अनुभवी नेता इन्द्र आङ्बोलाई पठाउने तयारी भैरहेको छ ।
मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन लागेको हो।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठन आह्वान गरेलगत्तै गठबन्धनमा आवद्ध दलहरूले नेकपा एकीकृत समाजवादीका नेता राईलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए। राईको पक्षमा ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षर गरेका छन् ।
नयाँ सरकार बनाउन नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतन्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij