Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना हुनुपर्ने माग

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना हुनुपर्ने माग


  • 4.5K
    Shares

    आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना हुनुपर्ने माग

    चितवन । आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्ने मागसहित ११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक भेला आज सौराहामा सम्पन्न भएको छ । 

    दुई दिने भेलापछि जारी गरिएको सौराहा घोषणापत्रमा प्रतिष्ठान चितवनमा स्थापना गर्न माग गरिएको हो । घोषणापत्रमा नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्ने सम्बन्धमा नेपाल पत्रकार महासङ्घ, केन्द्रीय समितिले निर्णय गरिसकेकाले त्यसको कार्यान्वयन गर्न जोडदार माग गर्दछ भनिएको छ । 

    काभ्रे शाखाले निर्माण गर्दै गरेको महासङ्घको भवनमा आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्न आवश्यक प्रबन्ध मिलाउन पनि सम्मेलनले सरकारसँग माग गरेको छ । महासङ्घको प्रदेश कार्यालय रहेको हेटौँडा उपमहानगरपालि–११ स्थित जग्गामा प्रादेशिक सञ्चारग्राम स्थापनाका लागि प्रक्रिया अघि बढाउन आग्रह गरिएको घोषणा पत्रमा उल्लेख छ । 

    यसैगरी प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित, क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाको आवश्यक प्रबन्ध गर्न सम्मेलनले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । कोभिड महामारीलगायत कारण देखाउँदै सञ्चारमाध्यमले पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक नदिने जस्ता गतिविधि गरेकोमा सम्मेलनको ध्यानाकर्षण भएको जनाइएको छ ।

     श्रमजीवी पत्रकारलाई पेशाबाट विमुख गराउने कार्यको भत्र्सना गर्दै यस्ता कार्य तत्काल सच्याउन र दिन बाँकी पारिश्रमिक तत्काल उपलव्ध गराउन सम्मेलनले सम्बन्धित पक्षसँग माग गरेको छ । कोभिड महामारीलगायतका समस्याले स्वरोजगारमूलक सञ्चारमाध्यम आर्थिक रुपमा धरासयी बनेको भन्दै केही सञ्चारमाध्यम बन्द भएका र कतिपय बन्द हुने अवस्थामा पुगेकाले सञ्चारमाध्यम टिकाउन आवश्यक आर्थिक प्याकेज ल्याउन सरकारसँग माग गरिएको घोषणा पत्रमा उल्लेख छ । 

    घोषणा पत्रमा भनिएको छ “स्वरोजगारमूलक सञ्चारमाध्यमलाई समानुपातिक  विज्ञापनको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्दछौं ।” वाग्मती प्रदेश सरकारले स्वतन्त्र प्रेसको संवैधानिक प्रावधानलाई आत्मसात नगरी सरकार आफैले सञ्चार गृह र सञ्चारमाध्यम सञ्चालन गर्ने गरी ल्याएको बजेट संशोधन गरी सञ्चारमाध्यम र सञ्चार संस्थाको प्रवद्र्धनमा खर्च गर्ने व्यवस्था गर्न सम्मेलनले प्रदेश सरकारसँग माग गरेको छ । 

    शनिबार वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुभएको सम्मेलनको आज आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण खनालले समापन गरे।

    नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाका अनुसार प्रदेशका १० जिल्लाका महासङ्घका अध्यक्ष, सचिव र कोषाध्यक्ष सम्मेलनमा सहभागी भएका थिए । 

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - १६:४८:५९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij