२०८२ भाद्र ४ गते बुधवार
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई जोड दिएको छ ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँपालिकाले वडा र स्वास्थ्य कार्यालयका भवन निर्माणलाई तीव्रता दिएको हो । जनप्रतिनिधि निर्वाचित भएर आएपछि तीनवटा भवन निर्माण सुरु गरिएकामा दुईवटा भवन निर्माण सम्पन्न भएको छ भने एउटा निर्माणाधीन अवस्थामा छ ।
बन्दीपुर गाउँपालिका–१ को वडा कार्यालय भवन केही समयअगाडि मात्रै सम्पन्न भएको हो । रु एक करोडको लागतमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार वडा नं ३ को कार्यालय पनि सम्पन्न भएर उद्घाटनको तयारीमा रहेको छ । वडा नं २ को कार्यालय भवन भने निर्माणमा केही ढिलाइ भएको छ । “ठेकेदारको लापरबाहीका कारण वडा नं २ को भवन निर्माणमा ढिलाइ भइरहेको छ,” उनले भने, “छिटो भवन निर्माण गर्न दबाब दिइरहेका छौँ ।”
वडा नं ५ को वडा कार्यालय विद्यालय भवनमा र ६ को पुरानै गाविस भवन मर्मत गरेर सञ्चालन भइरहेको छ । वडा नं ४ को कार्यालय खड्गदेवी मन्दिरका आडमा रहेको पुरानो विद्यालय भवनमा सञ्चालन भइरहेको छ । वडा नं ४ को भवन निर्माणका लागि जग्गा नपाइएको थापाले बताए । “जग्गा नपाएका कारण उक्त वडाको भवन निर्माण गर्न सकिरहेका छैनौँ, गाउँपालिकाकै नजिक रहेको एक पुरानो भवनमा वडा कार्यालय सञ्चालित छ,” उनले भने ।
वडा कार्यालय भवन निर्माणसँगै गाउँपालिकाले वडा कार्यालयसम्म पुग्ने बाटो कालोपत्रसमेत गर्न थालेको छ । सोही बमोजिम वडा नं १ को कार्यालयसम्म पुग्ने बाटो कालोपत्रका लागि ग्राभेल सकिएको छ । वडा नं २ को कार्यालयसम्म पुग्ने बाटो भने कालोपत्र सम्पन्न भइसकेको छ भने ३ को कार्यालयसम्म पुग्ने बाटो सम्याउने काम भइरहेको छ । ४ को भवन गाउँपालिका भवनसम्म कालोपत्र भइसकेको छ भने ६ मा वडा कार्यालयतर्फबाट कालोपत्र गरिएको छ । “आफ्नै कार्यालयबाट सेवा प्रवाह गर्ने उद्देश्यसहित वडा कार्यालय भवन निर्माणलाई प्राथमिकता दिएका छौँ,” अध्यक्ष थापाले भने, “त्यसले सहज रुपमा सेवा प्रवाह गर्न पनि सहयोग पुग्छ ।”
वडा नं १ को वडा कार्यालय भवनको केही समयअघि मात्रै उद्घाटन गरिएको छ । वडा कार्यालयको भवन निर्माणका लागि बन्दीपुर गाउँपालिका–१ का कृष्णराज अधिकारीले आठ आना, कास्कीको घान्द्रुकका कुलप्रसाद गुरुङले आठ आना, बन्दीपुर गाउँपालिका–१ का सुनिल अधिकारीले तीन आना, पोखराका हेमबहादुर थापा, पूर्णकुमारी बराल, मोहनकुमारी कटुवाल र मानबहादुर थापाले संयुक्त रुपमा आठ आना जग्गा भवन निर्माणका लागि दान दिएका थियो ।
गाउँपालिकाले स्वास्थ्य संस्थाको भवन निर्माणलाई समेत प्राथमिकता दिएको छ । सोही बमोजिम वडा नं १ र ३ मा स्वास्थ्य केन्द्रको भवन निर्माणाधीन अवस्थामा रहेको छ । असोजभित्र भवन निर्माण सम्पन्न हुने थापाले बताउनुभयो । वडा नं २ को भवनको केही दिनअघि उद्घाटन भइसकेको छ । वडा नं ५ को भवन निर्माण सम्पन्न भएर उद्घाटन गरिएको छ भने ६ को पुरानै भवनबाट सेवा प्रवाह भइरहेको छ । वडा नं ४ मा भने बन्दीपुर अस्पताल रहेकाले थप स्वास्थ्य संस्थाको भवन निर्माण गरिएको छैन ।
वडा नं ५ स्थित कल्चोक स्वास्थ्य केन्द्रको भवन रु ३८ लाखमा सम्पन्न भएको हो । भवन निर्माणका लागि सङ्घीय सरकारले बजेट उपलब्ध गराएको थियो । स्थानीयवासीले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरिएको वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले जानकारी दिए ।
आलुमा आत्मनिर्भर बनाउने प्रयास
गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउने प्रयास थालिएको छ । त्यसका लागि गाउँपालिकाले कृषकलाई बीउ वितरण सुरु गरेको छ । निर्वाहमुखी खेती गर्दै आइरहेका कृषकलाई व्यावसायिक बनाउँदै गाउँपालिकालाई आलुमा आत्मनिर्भर गराउन कृषकलाई बीउ वितरण थालिएको हो ।
गाउँपालिकाले दस हजार किलो आलुको बीउ खरिद गरी कृषक, सहकारी, समूहलाई अनुदानमा वितरण थालेको अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिएको छ ।
गाउँपालिकाले प्रतिकिलो रु ५४ का दरले आलुको बीउ खरिद गरी ल्याएको छ । गाउँपालिकाका ६ वटै वडामा कृषकलाई बीउ वितरण गरिनेछ । “कृषकले निर्वाहमुखी रुपमा आलु खेती गर्दै आइरहेका छन्, त्यसलाई व्यावसायिक बनाउँदै गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउने सोच लिएका छौँ,” उनले भने, “सबै वडाका कृषकलाई प्राथमिकताका आधारमा बीउ वितरण गर्छौं ।”
गाउँपालिकाले गत वर्ष पनि आलुको बीउ वितरण गरेको थियो । त्यसबेला ढिला खरिद गर्दा मूल्य महँगो परेको थियो । अहिले बेलैमा खरिद गरेकाले सुलभ मूल्यमा बीउ पाइएको थापाले बताए। गाउँपालिकाले प्याज, तोरी लगायतका बीउ पनि कृषकलाई वितरणको तयारी गरेको छ । “समग्र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छाँै, निर्वाहमुखी खेती गर्नेलाई कृषकको जीवनस्तर उकास्ने प्रयासमा छौँ”, अध्यक्ष थापाले भन्नुभयो । हिउँदमा चक्लाबन्दी खेतीका लागि प्याजको बीउ वितरण गरिनेछ ।
आँखा शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित
तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट करिब नौ सय ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । तीन दिनसम्म आयोजित शिविरबाट नगर क्षेत्रभित्र बसोबास गर्ने आठ सय ८४ ज्येष्ठ नागरिक लाभान्वित भएका छन् ।
नगरपालिकाले बिहीबारदेखि शनिबारसम्म दमौलीस्थित बाल मन्दिर माध्यमिक विद्यालयमा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा आँखा शिविर आयोजना गरेको थियो । शिविरमा चार सय ५९ महिला र चार सय २५ पुरुषको आँखा परीक्षण गरिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए।
व्यास नगरपालिका–१ का ४५ महिला र ३६ पुरुष, व्यास नगरपालिका–२ का एक सय १३ महिला र ८९ पुरुष, व्यास नगरपालिका–३ का ४४ महिला र ३५ पुरुष, व्यास नगरपालिका–४ का ४५ महिला र ३४ पुरुष, व्यास नगरपालिका–५ का २८ महिला र २५ पुरुष, व्यास नगरपालिका–६ का २६ महिला र २९ पुरुष, व्यास नगरपालिका–७ का आठ महिला र चार पुरुषको आँखा परीक्षण गरिएको छ ।
यसैगरी व्यास नगरपालिका–८ का सात महिला र २९ पुरुष, व्यास नगरपालिका–९ का ३३ महिला र १९ पुरुष, व्यास नगरपालिका–१० का २० महिला र २९ पुरुष, व्यास नगरपालिका–११ का २४ महिला र २२ पुरुष, व्यास नगरपालिका–१२ का २५ महिला र २६ पुरुष, व्यास नगरपालिका–१३ का २९ महिला र ३१ पुरुष, व्यास नगरपालिका–१४ का १६ महिला र १७ पुरुषले आँखा परीक्षण गराएको नगरपालिकाले जनाएको छ ।
त्यसमध्ये २१ महिला र २१ पुरुष गरी ४२ जनामा मोतियाविन्दु देखिएकाले उनीहरुको नगरपालिकाले नै निःशुल्क शल्यक्रिया गराइदिने प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए । शिविरमा हिमालय आँखा अस्पतालका डा धर्मेन्द्र घोरासैनी नेतृत्वको टोलीले ज्येष्ठ नागरिकको आँखा परीक्षण गरेको थियो ।
उमेर ढल्किँदै जाँदा आँखासम्बन्धी समस्याका कारण कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले सबै वडा समेटिने गरी शिविर सञ्चालन गरिएको सिग्देलले बताए । “ढल्ँिकदो उमेरसँगै आँखाको ज्योति कमजोर हुन्छ । ज्येष्ठ नागरिकका सामान्य दैनिकी समेत प्रभावित हुने हुँदा शिविर आयोजना गरेका हौँ,” उनले भने, “शिविर प्रभावकारी भएको ठहर गरेका छौँ ।”
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij